झापा , साउन ३२ । नेपाल बैंकर्स संघले भदौका लागि बैंक व्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले भदौमा निक्षेपको व्याजदर बढाउन सक्ने देखिएको छ ।

साउनमा केही बैंकले व्याजदर बढाएर निक्षेप थपेपछि भदौमा निक्षेप कम भएका बैंकले व्याजदर बढाएर तान्न सक्ने देखिएको हो । कुनकुन बैंकले व्याज बढाएर निक्षेप तान्दैछन् भन्ने खुलेको भने छैन । गत असार अन्तिममा बैंकर्स संघले व्याजदरमा लागु हुँदै आएको भद्र सहमति तोडेको थियो । त्यसपछि केही बैंकहरूले आ-आफ्नै तरिकाले व्याजदर निर्धारण गर्दै आइरहेका छन् । भदौमा पनि यही प्रवृत्ति कायम रहने देखिएको हो । साउनमा व्याजदर नबढ्ने गरी भद्र सहमति तोडिए पनि केही बैंकहरूले आफू अनुकूल व्याजदर बढाएका थिए । त्यसैको निरन्तरतास्वरुप केही बैंकहरूले भदौका लागि व्याजदर बढाउन सकिने देखिएको छ । बैंकहरूले महिनाको मसान्तमै व्याजदर प्रकाशन गर्नुपर्ने हुन्छ । सोहीअनुसार बिहीबार बैंकहरूले नयाँ व्याजदर प्रकाशन गर्नुपर्नेछ ।

पछिल्लो समय अर्थतन्त्रमा सुस्तता आएका कारण समग्र बजार तथा सरकारको समेत चाहना व्याजदर घटाउने रहेको छ । तर, केही बैंकले व्याजदर बढाए नबढाउने बैंकको निक्षेप गुम्न सक्ने डर रहन्छ । केहीले व्याजदर बढाउँदै गर्दा केहीले गत साउनमा ब्याजदर बढाएनन्। व्याजदर नबढाउने सहमति गराएर व्याजदर बढाएपछि केही बैंकरले असन्तुष्टि जनाउँदै आएका छन् । ’व्याज नबढाउने भनेर सहमति गरियो। पछि आफैँ मनलाग्दी व्याज बढाइयो,’ एक वाणिज्य बैंकका सीईओले भने, ’भद्र सहमति तोड्नु गलत भयो ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्