झापा , साउन ३२ । इलाममा काठ चोरी तस्करीमा संलग्न ३१ जनामाथि मुद्धा दर्ता भएको छ । त्यसमध्ये ७ जना पक्राउ परेका छन् ।


काँचो रुख कटान गरी गैर उपभोक्तालाई बिक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित ७ जनालाई पक्राउ गरेको हो । डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा वन उपभोक्ता समूहका अध्यक्ष हेमबहादुर थापासहित ७ जनालाई पक्राउ गरेको हो ।

सतासीधाम सामुदायिक वन उपभोक्ता समूह ( झापा सतासीधाम –८ र माई नगरपालिका इलाम ८) का अध्यक्ष थापा, शिक्षक समेत रहेका लेखा हेर्ने इन्द्र प्रसाईँ, कार्यालय सचिव केदार भट्टराई , समितिका सदस्यहरु शेरबहादुर भट्टराई , बद्री थापा, चालक पदम तामाङ र चेन्सो चलाउने सुमन राईलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय इलामले जनाएको छ । त्यस्तै थप दुईजनालाई पक्राउ गर्न अदालतबाट आदेश प्राप्त भएको वन कार्यालय इलामका अनुसन्धान अधिकृत राजकुमार खत्रीले बताए । साउन २५ गते पक्राउ परेका ती ७ जनालाई थुनामा राखी अनुसन्धान गर्न सात दिने म्याद लिइएकोमा सो म्याद सकिएपछि आज थप १० दिनको म्याद थपिएको खत्रीले जानकारी दिए । वन कार्यालयले १ महिना भित्र १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको जनाएको छ ।

त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रक्रिया नपुर्याई लागत इस्टिमेट तयार पारेको, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णयविपरीत आफूअनुकूल कागजात तयार पारी १५ लाख रुपैयाँ पाँच हजार नौ सय ३० बराबरको भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । आयोगले वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ ।

यस्तै वन उपभोक्ता समूहका तत्कालीन सल्लाहकार अर्जुनकुमार थापा र कोषाध्यक्ष रामकुमारी खत्रीविरुद्ध रु चार लाख बराबरको बिगो दाबी गरेको छ । वन समूहका उपभोक्ता एवं चिलाउने गौँडा हिलो खोला क्रसिङ फुटपाथ पुलका अध्यक्ष दिलबहादुर मगर र पुलका कोषाध्यक्ष रस्मिला बराइलीविरुद्ध रु चार लाख, दर्तावाला लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध गलत प्रतिवेदन बनाई भ्रष्टाचारमा सहयोग गरेको आरोप देखिएकाले कैद र जरिवानाको माग गरेको छ । आयोगले वन उपभोक्ता समूहका तत्कालीन सचिव रामबहादुर मगर र सोही समूहका तत्कालीन कोषाध्यक्ष चन्द्रकला श्रेष्ठविरुद्ध समान ११ लाख रुपैयाँ पाँच हजार नौ सय ३० बराबरको बिगो दाबी गर्दै आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । विशेष अदातलमा मुद्धा दर्ता भएपछि पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बराइलीसहित ३ जनालाई पदबाट निलम्बन गरिएको अनुसन्धान अधिकृत खत्रीले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७९–०८० मा त्यसबाहेकका काठ चोरी तस्करीका घटनामा संलग्न १४ जनालाई पक्राउ गरी मुद्धा चलाइएको डिभिजन वन कार्यालयका वन अधिकृत गजेन्द्र श्रेष्ठले बताए । पक्राउ पर्नेमा तीन महिला रहेका छन् । २०७९ साउन १६ मा महेन्द्रा पिकअपमा लोड गरिएको ६७.९० क्युफिट चिरान कुकाठसहित दुईजना पुरुष पक्राउ परेका थिए भने २०७९ साउन २५ गते चुलाचुली सव डिभिजन कार्यालयले ५.६८ क्युफिट साल जातका काठसहित दुई महिला र दुई पुरुषगरी चारजनालाई पक्राउ गरेको थियो ।

त्यस्तै २०७९ असोज २५ गते चुलाचुली सव डिभिजन कार्यालयले दुईवटा मोटरसाइकलमा ७.४९ क्युफिट साल काठसहित चार जनालाई पक्राउ गरेको थियो । त्यस्तै २०७९ मंसिर ११ गते चुलाचुली सव डिभिजन कार्यालयले नै मोटरसाइकलमा लाँदै गरेको अबस्थामा एकजना पुरुषलाई ५.१७ क्युफिट सालको काठसहित पक्राउ गरेको थियो । त्यस्तै २०७९ माघ १६ मा महेन्द्रा पिकअपमा लाँदै गरेको अबस्थामा ३७.०६ क्युफिट सालको काठसहित दुईजना पुरुष पक्राउ परेका थिए भने त्यसको दुई दिनपछि चुलाचुली सव डिभिजन कार्यालयले मोटरसाइकलमा ४.६७ क्युफिट सालको काठ लाँदै गर्दा एकजना पुरुषलाई पक्राउ गरेको थियो । धरौटीमा रिहा भएका उनीहरुमाथि मुद्धा चलिरहेको बन अधिकृत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्