भद्रपुर, साउन ३२ । कचनकवल– ६ बनियानीमा रहेको कचनकवल विद्या मन्दिर मा.वि.की छात्रा अस्मिता देवानले ३.८२ जीपीए प्राप्त गरी जिल्लाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको दावी गरिएको छ ।


२०७८ सालबाट कचनकवल माविमा व्यवस्थापन संकाय पढ्दै आएकी देवानले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा प्राप्त गरेको अंक जिल्लाका अन्य विद्यालयमा फेला नपरेको भन्दै विद्यालयले झापा प्रथमको दावी गरेको हो ।
उनी पढाइप्रति लगनशील र मेहनती विद्यार्थी रहेको विद्यालयका प्रिन्सिपल खगेन्द्र पाण्डेले बताए । पाण्डेका अनुसार अस्मितासहित २०७९ सालको एस.एल.सी परीक्षामा सहभागी २८ जना विद्यार्थीहरूले उत्कृष्ट अंकसहित शतप्रतिशत नतिजा ल्याएका छन् ।

शिक्षक, विद्यार्थी र अभिभावकको निरन्तर सहयोगमा विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्राध्यापक घनश्याम अर्यालले बताए ।
नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिँदै अस्मिताले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरूको मार्गदर्शन नै सफलताको श्रेय रहेको बताइन् ।
दक्षिणी झापाको दुर्गम पालिकाको पहिचान बनाएको कचनकवलमा पहिलो पटक जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त भएकोमा खुसीयाली मनाइएको छ ।

कचनकवल माविबाट २८ जना परीक्षार्थी सामेल भएकोमा ३.६ देखि ४ जीपीए ल्याउने १ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने १० जना, २.८ देखि ३.२ जीपीए ल्याउने १५ जना र २.४ देखि २.८ जीपीए ल्याउने २ जना छन् ।
२०५३ सालमा स्थापित सो विद्यालयले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको अतिरिक्त क्रियाकलाप विभाग एवं कम्प्युटर विभाग प्रमुख बेनुप राजप्रसाईँ तथा कुलचन्द्र अधिकारीले बताए ।
छोटो समयमै छुट्टै पहिचान बनाउन सफल कचनकवल माविले २०७७ सालदेखि व्यवस्थापन संकायमा कक्षा ११÷१२ सञ्चालनमा ल्याएको हो ।
आफ्नै अत्याधुनिक भवनका साथै फराकिलो खेलमैदानसहित कचनकवल ६ बनियानीको रामजानकी मार्गमा शान्त तथा मनोरम वातावरणमा विद्यालय अवस्थित छ ।

त्यस्तै भद्रपुरका प्रज्ञा एकेडेमी र एसएस निकेतन अंग्रेजी माविले भर्खरै प्रकाशित कक्षा १२ को परीक्षाफलमा उत्कृष्ट नतिजा ल्याएका छन् । नगरका अन्य विद्यालयभन्दा यी दुई संस्थागत विद्यालयले उत्कृष्ट नतिजा ल्याएका हुन् । व्यवस्थापन संकायतर्फ प्रज्ञा एकेडेमीका छात्रा आयुस दासले भद्रपुर टप गरेको दाबी गरिएको छ । दासले ३.७१ जीपीए ल्याएका छन् ।

त्यस्तै प्रज्ञाका छात्रा वन्दना मिश्रले ३.६१ जीपीए ल्याएकी छिन् । ३.२० देखि ३.६० जीपीए ल्याउनेमा प्रज्ञाका अभिषेक उप्रेती, एन्जल गिरी, चन्द्रा दाहाल, दीक्षा प्रधान, रितिक राजवंशी, निश्चल सुब्बा, प्रज्वल कार्की, प्रकृति मैनाली, रोमन सिग्देल, सौरभ राजवंशी, सृष्टि बञ्जरा रहेका छन् । प्रज्ञाबाट ५४ जना विद्यार्थी उतीर्ण भएको प्रज्ञाका प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिए । त्यसैगरी एसएस निकेतनमा व्यवस्थापन संकायतर्फ छात्रा करुणा खतिवडाले उत्कृष्ट नतिजा ल्याएकी छिन् । खतिवडाले ३.६२ जीपीए ल्याएको विद्यालयका प्रिन्सिपल दीप श्रेष्ठले जानकारी दिए । ३.२० देखि ३.६० जीपीए ल्याउनेमा एसएसका दिव्या काफ्ले, झरना श्रेष्ठ, गणेश वन, नागेश्वरी कामती, सृष्टि देउजा र प्रियंका जैसवाल रहेका छन् । २.८० देखि ३.२० जीपीए ल्याउने १८ जना, २.४० देखि २.८० जीपीए ल्याउने १४ जना र २ देखि २.४० जीपीए ल्याउने ७ जना विद्यार्थी रहेको प्रिन्सिपल श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्