बिर्तामोड, भदौ १ । विगत २८ वर्षदेखि चलचित्र क्षेत्रमा क्रियाशील बिर्तामोड ४ का संजय न्यौपानेले ‘जोडी मिलाईदेऊ’ म्यूजिक भिडियो निर्माण गरेका छन् ।

हिजो साँझ बिर्तामोडको पाथीभरा सिनेप्लाजामा निर्देशक न्यौपाने र नायिका आइसा तामाङको उपस्थितिमा एक प्रिमियर कार्यक्रमका बीच ‘जोडी मिलाइ देऊ’ म्युजिक भिडियो रिलिज भएको छ । आफ्नै कम्पनी संजय न्यौपाने फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा उनले सो म्यूजिक भिडियो निर्माण गरेका हुन् । जुन म्यूजिक भिडियोमा चर्चित नायक पुष्प खड्का र आइसा तामाङले अभिनय गरेका छन् । त्यस्तै प्रमोद खरेल र शान्तिश्री परियारले स्वर दिएका छन् । प्रिमियर शोमा म्यूजिक भिडियो हेरिसकेपछि दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । सो म्यूजिक भिडियोले ट्रेन्डिङ रेस्पोन्स पाउने उनीहरुले विश्वास लिएका छन् ।करिव १५ लाखको लागतमा सो म्यूजिक भिडियो निर्माण भएको बताइएको छ ।

अभिनय , निर्देशन ,निर्माणलगायतका विधामा पोख्त न्यौपानेले साथी , सुरक्षा, जीत ,रिफ्युजी , नाई नभन्नु ल ५ , राधाजस्ता करिव एक दर्जन चलचित्रमा अभिनय गरेका छन् । चलचित्रसंगै पहिलो पटक आफूले म्यूजिक भिडियो निर्माण गरेको न्यौपानेले बताए । उनले सो म्यूजिक भिडियो आजदेखि संगीत भकारी च्यानलबाट हेर्न सकिने जानकारी दिए । आफ्नो २८ वर्षको अनुभवलाई समेटेर निकट भविष्यमा नयाँ चलचित्र निर्देशन गर्न लागेको उनको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी संघका प्रदेश अध्यक्ष राजु धमलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चलचित्र र लागूऔषध न्यूनीकरणको क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सो म्यूजिक भिडियोकी नायिका आइसा तामाङ ,चलचित्र क्षेत्रका प्राविधिक दिनेशराज शर्मा , चलचित्र पत्रकार रमेश तिवारी, लागूऔषध दुर्व्यसन न्यूनीकरणमा लागेका राजु गिरी , बुद्धि सुब्बा र पाल्देन ओङ्दी शेर्पालाई सम्मान गरिएको होे । कार्यक्रमको संचालन संचारकर्मी तिलक योन्जनले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्