झापा , भदौ १ । वनको विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यबाट गठन गरिएको वन विकास कोषमा अहिलेसम्म करिब १ अर्ब रूपैयाँ जम्मा भएको छ ।

तर, त्यो रकम वन क्षेत्रको विकास तथा सम्बर्द्धन गर्ने उद्देश्यमा प्रयोग हुन सकेको छैन । वन विभागका अनुसार उक्त रकम विगत ४ वर्षदेखि प्रयोगविहीन बनेको हो । वन क्षेत्र अन्य प्रयोजनका लागि प्रयोग गर्न दिएबापत त्यसबाट प्राप्त भएको रकम वन विकास कोषमा जम्मा गर्नु पर्ने वन विकास कोष वन ऐन, २०७६ को दफा ४५ मा व्यवस्था गरिएको छ । वन विकास कोषबाट उठेको रकम प्रयोग गर्ने विषयमा कार्यविधि नै नबनेकाले ४ वर्षदेखि कोषमा प्राप्त भएको रकम प्रयोगमा नआएको वन विकास कोषका सदस्य सचिव तथा वन विभागका महाप्रबन्धक शिव वाग्लेले बताए । उनका अनुसार विभागले कार्यविधिको मस्यौदा तयार गरिसकेको छ । केही दिनमै मन्त्रालयमा मस्यौदा पेस गर्ने तयारी भएको वाग्लेले बताए । ’मन्त्रालयले कार्यविधि मन्त्रिपरिषद्मा लग्न पनि सक्छ या आफैँ पास गर्न पनि सक्छ । तर कार्यविधि पास हुनेबित्तिकै वन विकास कोषमा जम्मा भएको रकम प्रयोगमा आउनेछ,’ उनले भने । वाग्लेका अनुसार हाल उक्त रकम वन विभागको कोष तथा लेखा नियन्त्रक कार्यालयको धरौटी खातामा जम्मा भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्