झापा, भदौ १ ।भद्रपुर १० स्थित वीपी चौकमा झण्डै दुई वर्षयता बिनाइजाजत संचालनमा रहेको उत्तरदायित्व ऋण तथा बचत सहकारी संस्थाले अन्यत्र पनि ठगेको पाइएको छ ।

यसअघि हल्दिवारी १ गोलधापमा सेवाकेन्द्र खोलेको उत्तरदायित्व साकोसले त्यहाँका २१४ जना सदस्यको बचत ७ लाख ४२ हजार ७०० रुपैयाँ फिर्ता नगरेपछि कानूनी कार्वाही गरिएको हल्दिवारी १ का वडाध्यक्ष देवी थापाले बताए । प्रहरी लगाएर थुनेपछि केही रकम फिर्ता दिएको तर २ लाख ९३ हजार रुपैयाँ अझै फिर्ता नगरेको वडाध्यक्ष थापाले बताए ।‘ विगत चार महिनादेखि ताकेता गरिरहेका छौं ’उनले भने,‘हाम्रो फोन रिसिभ गरिरहेका छैनन् ।’ सो सहकारी संस्था २०७० सालमा साविक गरामनी ५ हाल बिर्तामोड ८ मा दर्ता भएको देखिन्छ । सहकारीकी प्रवन्धक सोनिका चौधरीलाई करकाप गरेपछि पूर्व सई प्रभुनारायण चौधरीले जमानीमा बस्दा आफूहरुले छोडेको तर अहिले बाँकी सदस्यहरुको पैसा फिर्ता नदिएको वडाध्यक्ष थापाले बताए । त्यसअघि सो सहकारीले हल्दिवारी चौकमा सेवाकेन्द्र खोलेको थियो ।

उता भद्रपुरमा साइन बोर्डमा स्थापना २०७० लेखेर टाँगिएको सहकारीको मुख्य कार्यालय कहाँ छ अनि सहकारीको जिम्मेवार व्यक्ति को हो भन्ने सूचनासमेत दिन नसक्ने कर्मचारीको भरमा सयौं स्थानीयबाट रकम संकलन गर्दै आएको सहकारीले बचत फिर्ता गर्न सकेको छैन । सात दिनभित्र आबश्यक कागजात ल्याउन र सदस्यहरुको रकम फिर्ता गर्न कर्मचारी ललन राजवंशीलाई भनेको भद्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नेत्र पोखरेलले बताए । स्थानीय सरकारसंग कुनै अनुमति लिएको नपाइएपछि भद्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख पोखरेल तथा भद्रपुर १० का वडा सचिव मनकुमार डाँगीको टोलीले कार्यालयमै गएर कागजपत्र माग्दा त्यहाँ रहेकी संकलक कर्मचारीले केही पनि देखाउन नसकेको वडा सचिव डाँगीको भनाइ छ ।

पछिल्लो दुई महिनायता बचतकर्ताले बचत रकम माग्न थालेपछि पुराना संकलक कर्मचारी काम छोडेर अन्यत्रै गएका छन् भने नयाँ कर्मचारीका रूपमा एक जना संकलक देखिएपनि अन्य जिम्मेवार व्यक्ति नभेटिँदा अधिकांश बचतकर्ताको रकम फिर्ता हुन नसकेको पीडितहरूको गुनासो छ ।डेढ वर्षयता टोलटोलमा रहेका बेरोजगार तथा आर्थिक रूपमा कमजोर रहेका व्यक्तिलाई राम्रो तलव दिने बहाना बनाएर आफन्त तथा छरछिमेकीलाई सदस्य बनाउन लगाई रकम संकलन गर्दै आएको सहकारीमा तीन महिनायता व्यवस्थापक समेत नरहेको स्थानीयको भनाइ छ । तलब नपाएपछि पुराना संकलक कर्मचारी काम छोडेर अन्यत्र गइसकेकाले उनीहरूको विश्वासमा रकम जम्मा गर्ने बचतकर्ताको बचत रकम फिर्ता हुन नसकेको पीडितको गुनासो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्