मेचीनगर, भदौ २ । मेचीनगर–८ का सुन्दर किसानको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।

सुन्दर किसानको नातामा दाजु पर्ने दुईजनालाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका रामजी किसान र कुकरसिंह किसानलाई प्रहरीले सार्वजनिक गर्न लागेको बताइएको छ । झड्केलोपट्टिका सन्तान रामजी र कुकरसिंहले पारिवारिक रिसिबीका कारण सुन्दरको हत्या गरेको कुरा अनुसन्धानबाट पत्ता लागेको मेचीनगर –८का वडाध्यक्ष गिरीराज धमलाले बताए । उनले केही वर्षअघि उनीहरुबीच विवाद भएको कुरा खुलेको जानकारी दिए ।

प्रहरीका अनुसार विहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये ती दुईजनालाई नियन्त्रणमा लिइ बाँकी सबैलाई छाडिएको छ ।
।प्रहरीले बिहीवार घटनास्थलबाट रड भेटेको थियो ।शुक्रवार सोही ठाउँको नजिकै सिक्कल (हतियार) भेटेको थियो । सो सिक्कल पक्राउ पर्नेहरुको भएको पुष्टि भएको छ ।
किसानको शव विहीबार विहान मेचीनगर–८ स्थित प्रगतिशील र मुनिया टोलको सीमानामा रहेको पैनीको झाडीमा भेटिएको थियो ।

वडा नम्बर ८ स्थित सेन्ट्री टोलका ४३ वर्षीय किसान पैनीको झाडीमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मृतक किसानले मजदुरी गरेर परिवार पालिरहेका थिए । उनी गाउँमै ज्याला मजदुरी काम गर्थे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्