झापा । भदौ २ । फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन भएको छ ।

उनको ४१ वर्षको उमेरमा शुक्रबार निधन भएको अखिल नेपाल फुटबल संघले जनाएको छ । नेपाली सेनामा कार्यरत चौधरी अभ्यासका क्रममा विहान करिब पौने १० बजेतिर भद्रकालीस्थित मैदानमै ढलेका थिए। मैदानमा ढल्ने बित्तिकै सेनाको मेडिकल टोलीले उनको प्राथमिक उपचार गरेको थियो । मैदानमै सिपिआरपछि तत्काल छाउनी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे। सेनाका हवल्दार चौधरीले सन् २००७ देखि रेफ्री करिअर सुरु गरेका थिए । सन् २०२० मा फिफाको असिस्टेन्ट रेफ्री बनेका उनी फिफा ब्याचको नवीकरणका लागि विशेष तयारीमा जुटेका थिए । सर्लाही स्थायी घर भएका चौधरीको श्रीमती र २ सन्तान छन् । फिफा सहायक रेफ्री चौधरीको निधनले २ वर्षअघिको फिफा रेफ्री लव खत्रीको निधनको संझना दिलाएको छ । त्यतिबेला फिफा रेफ्री खत्री पनि नियमित अभ्यास गरेर घर फर्किएको अवस्थामा कोठामा मृत भेटिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्