मेचीनगर, भदौ २ । मेचीनगर–८ का सुन्दरलाल किसानको हत्या आरोपी दुई दाजुभाइलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुन्दरको हत्यामा संलग्न नातेदार मेचीनगर ८ कै ५६ वर्षिय रामजी किसान र उनका भाई ४८ वर्षिय सुनरसी किसानलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । सोधपुछको क्रममा उनीहरुले गत साउन ३१ गते राति ८ बजे सुन्दरलालले मादक पदार्थ सेवन गरी आफूहरु बसिरहेको कल्भर्टमा आइ गालीगलौज गरेपछि सोही निहुँमा झगडा परेको र घटना घटाएको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनीहरुले फलामको रडको खन्ती र सिकल प्रहार गरी शरीरको टाउको,घाटी,हात तथा अन्य बिभिन्न भागमा चोट पुर्याई सुन्दरलाललाई हत्या गरेको र लाशको व्यवस्थापन गर्ने क्रममा दुवैजनाले मृतकलाई कल्भर्टबाट दक्षिणतर्फ रहेको धानखेतमा घिसार्दै होली पैनीमा लगेर झाडी बुट्यानले छोपी घटनामा प्रयोग गरेको धारिलो हतियार सिकललाई लाश रहेको स्थानदेखि दक्षिणतर्फ पैनीको झाडीमा फ्याकेको कुरा स्वीकार गरेको डीएसपी रिजालले जानकारी दिए ।

घटनापछि दुवै भारततर्फ भागेका थिए । डग स्निफिङ्ग गराउँदा घटनास्थलमा फेला परेको रडको खन्ती सुनरसी किसानको भएको भन्ने खुलेपछि आफन्त नातागोताहरुसंग समन्वय गरी सोधपुछको लागि उनीहरुलाई नेपाल झिकाएर नियन्त्रणमा लिईएको रिजालले बताएका छन् । सुन्दरलालको शव विहीबार विहान मेचीनगर–८ स्थित प्रगतिशील र मुनिया टोलको सीमानामा रहेको पैनीको झाडीमा भेटिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्