झापा, भदौ ३ । पोर्तुगलमा एक झापालीसहित दुई नेपालीको मृत्यु भएको छ ।
युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको हो । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ ।झापाका ३१ वर्षीय अजय थापाको मृत्यु भएको हो ।
राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापा गौरादह नगरपालिका–३ का थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले बताए ।
वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल गएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए । परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको उनले बताए ।
उनकी श्रीमती पोर्तुगलमै रहेकी छन् ।
दुई दिनअघि बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका १ का २८ वर्षीय टेकबहादुर दर्लामी मगरको हृदयघातका कारण मृत्यु भएको थियो । मारभिल्ला कम्पनीमा कार्यरत मगरको १६ अगस्टका दिन सुतिरहेको अवस्थामै मृत्यु भएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित सदस्य बिनु बस्नेतका अनुसार परिवारसँगको छलफलपछि दुवैको पार्थीव शरीर नेपाल पठाइने छ । उनका साथीभाइले पार्थीव शरीर व्यवस्थापन गर्न आवश्यक आर्थिक सहयोग गरिदिन पोर्तुगलमा रहेका सबै नेपालीहरुलाई अनुरोध गरेका छन् । पोर्तुगलमा २०१० यता ७७ नेपालीले ज्यान गुमाएका छन् ।