झापा,भदौ ४ । कन्काई सिँचाई परियोजनाअन्तर्गत कृषिसम्बन्धी प्रशिक्षण तथा सेमिनारको लागि झापाका चारजना पालिका प्रमुखहरु यतिबेला जापान भ्रमणमा छन् । त्यही जापान भ्रमणले विवाद ल्यायो दुईवटा पालिका प्रमुखहरुले उपप्रमुखलाई कार्यबाहक नदिएपछि ।

कार्यबाहक नदिने प्रमुखहरु

त्यस कार्यक्रममा सहभागी हुन गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदी , गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी , शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा रोशन र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई जापान गएका छन् । विदेश भ्रमणमा जानुभन्दा अगाडि गौरादहका नगरप्रमुख सुवेदीले उपप्रमुख जलवर्षा राजवंशी र गौरीगञ्जकी अध्यक्ष राजवंशीले उपाध्यक्ष पुजन न्यौपाने कुँवरलाई कार्यबाहकको जिम्मेवारी दिएर गए । तर, शिवसताक्षीका नगरप्रमुख थोप्राले उपप्रमुख नरमाया कार्की हुँदाहुँदै वडा नं ४ का वडाध्यक्ष विष्णुबहादुर प्रसाईलाई कार्यबाहक दिए । व्यापक आलोचना भएपछि त्यसलाई उनले सच्याए । त्यस्तै सोही भ्रमणमा गएका कमलका अध्यक्ष राईले पनि थोप्राकै सिको गरेर उपाध्यक्ष उपाध्यक्ष प्रमिला न्यौपाने हुँदाहुँदै वडा नं २ का वडाध्यक्ष अशोक सुब्बालाई कार्यवाहकको जिम्मेवारी दिए ।दुईजना पालिका प्रमुखहरुले उपप्रमुखहरुलाई कार्यबाहकको जिम्मेवारी दिइरहँदा अन्य दुईले नदिनुले जनप्रतिनिधिबीचको विवादलाई उजागर गरेको छ ।

कार्यबाहक दिने प्रमुखहरु

पालिकाहरुमा प्रमुख र उपप्रमुखबीच अधिकार क्षेत्रकै विवाद हुने गरेको हो । कार्यबाहक नदिने पालिका प्रमुख दुवैजना पुरुष र नपाउने उपप्रमुख दुवै महिला जनप्रतिनिधि हुन् । समावेशी सहभागिता सुनिश्चित गर्न स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एकमा दलहरुले महिला उठाउनैपर्ने व्यवस्था गरियो । त्यहीकारण अधिकांश स्थानीय तहको उपप्रमुखमा महिला निर्वाचित भए । तर दश वर्षको अवधिमा पनि समावेशी सहभागिताको यथोचित अभ्यास हुन पाएको छैन । प्रमुख – उपप्रमुखबीच अधिकार क्षेत्रको विवाददेखि समन्वय अभाव र लैंगिक उपेक्षाका कारण स्थानीय तहको काम कारवाही नराम्रोसँग प्रभावित भएको छ ।

अध्यक्षले आफ्नो अधिकार मिचेर वडाध्यक्ष सुब्बालाई कार्यबाहक दिएपछि रिट दायर गर्ने तयारी गरेकी कमलकी उपाध्यक्ष न्यौपानेले अध्यक्ष राईले अरु बेला विदामा बस्दा पनि कार्यबाहक नदिएको बताइन् । ‘ अध्यक्ष विदामा बस्दा कार्यबाहक नदिएपछि म भन्ने गर्थे कार्यालय आउनु कि कार्यबाहक दिनु’ उनले भनिन् ,‘यसपटक त म हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएपछि अति नै भयो ।’ नीतिनियम मिचेर काम गरेपछि आफू कानूनी प्रक्रियामा जाने उनले बताइन् । कार्यवाहकको जिम्मेवारी स्वतः आफ्नो अधिकार भएको उपाध्यक्ष न्यौपानेले बताइन् । वडाध्यक्षलाई कार्यबाहक दिने अध्यक्षको कदमबिरुद्ध आफू अदालत जाने र नियमविपरीत वडाध्यक्षलाई कार्यबाहक दिएकोमा अध्यक्ष राईको कदमबिरुद्ध रिट दायर गरेर स्टे अर्डर लिएर आउने समेत उपाध्यक्ष न्यौपानेले जानकारी दिइन् । राईले विदेश भ्रमणको अघिल्लो दिन कमल–२का अध्यक्ष सुब्बालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । कांग्रेसबाट निर्वाचित अध्यक्ष राईले नेकपा समाजवादीबाट निर्वाचित सुब्बालाई अख्तियारी दिएका हुन् भने उपाध्यक्ष प्रमिला न्यौपानेले नेकपा एमालेबाट निर्वाचित हुन् ।

त्यस्तै शिवसताक्षी नगरप्रमुख थोप्राले उपप्रमुख नरमाया कार्कीलाई कायस गरेर वडाध्यक्ष विष्णुबहादुर प्रसाईलाई कार्यवाहक दिएका थिए । प्रसाईलाई नगरप्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिएका थिए । तर, व्यापक आलोचना भएपछि वडाध्यक्ष प्रसाईलाई शनिवार अर्थात ४ दिनमै कार्यबाहकको जिम्मेवारीबाट हटाइयो । वडाध्यक्षको कार्यबाहक सकिएपछि पदको हिसावले आफूले स्वतः कार्यबाहक भएर चलाउन पाउने नियम रहेको उपप्रमुख कार्कीले बताइन् । उनले आफ्नो क्षेत्र अधिकार मिचेर नगरप्रमुखले वडाध्यक्ष प्रसाईलाई कार्यबाहक दिएको ठहर गरिन् ।

यसैबीच गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका महासंघले स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १६को उपदफा (४) खण्ड (क) बमोजिम अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार सूचीको सूची नम्वर १२मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने कानूनी व्यवस्थाका बारेमा ध्यानाकर्षण गराएका छन् ।
कानुनतः अध्यक्ष÷प्रमुखको अनुपस्थितिमा निजको कार्यजिम्मेवारी स्वतः उपाध्यक्ष –उपप्रमुखमा रहने भएकोले सोही बमोजिम कार्यबाहक वा निमित्तको कार्यभार दिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्