झापा, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने प्रयोजनका लागि आफैंले बोलाएको बैठक छलेर उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेकी छिन् ।

बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौं लागेकी हुन् । उनले प्रदेशसभा सचिवालयले आफू आज उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए । थापाको मागविपरित उपसभामुख दनुवारले भने आजका लागि बैठक आव्हान गरेकी थिइन् । उनै दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएकी थिइन् ।
थापालाई बिश्वासको मत लिन नदिनका लागि एमालेले उपसभामखुलाई अनुपस्थित गराउने आशंका गरिँदै आएको थियो । उक्त आशंकालाई बल पुग्ने गरी उपसभामुख दनुवार प्रदेशसभाको बैठकै छलेर काठमाडौं लागेकी हुन् । यसअघि हिजै एमालेले ७ जना र राप्रपाले २ जना प्रदेशसभाका जेष्ठ सदस्यहरुलाई विदामा बस्न लगाएको छ । उनीहरुले ‘घरायसी समस्या’ देखाउँदै संसद सचिवालयमा आजको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जनाएका छन् ।

थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाईएको थियो । उपसभामुखले राजीनामा दिएको वा अनुपस्थित भएको अवस्थामा जेष्ठ सदस्यले सभा संचालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई विदामा राखेको हो । सभा संचालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत (४७) संख्या पुर्याउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा संचालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ ।
कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्