बिर्तामोड,भदौ ५ ।साहित्य चौतारी झापाले सोमवार दुई जना झापाली स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ ।

होटल हिकोला हेरिटेजमा आयोजित समारोहका बीच साहित्य चौतारीले साहित्यकारहरु भवानी क्षेत्री र हरिचरण बानियालाई उक्त सम्मान प्रदान गरेको हो ।
साहित्यको विकास र प्रवर्द्धनमा अहोरात्र लागेका दुई विशिष्ट प्रतिभालाई दीर्घ साधना सम्मान प्रदान गर्न पाउँदा खुशी लागेको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । ‘अविच्छिन्न साहित्य साधना र लेखन कर्ममा संलग्न हुनु चानचुने कुरा होइन’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने ।

वरिष्ठ आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभा आयोजना भएको हो । कार्यक्रममा बोल्दै साहित्यकार खरेलले स्रष्टा सर्जकको योगदानलाई सम्झिने साहित्य चौतारीले लिएको नीति प्रशंसनीय रहेको बताए ।‘देवीभक्त जीले साहित्य चौतारीलाई यहाँसम्म ल्याउन जुन भूमिका र लगानी गर्नु भएको छ, सायदै अरुले गर्दैनन्’, कार्यक्रममा प्रमुख अतिथि खरेलले भने, ‘भाषाकला र साहित्यको विकासका लागि सरकारी तहले पनि यत्तिको लगानी गरेका छैनन् ।’

रजत वर्ष मनाइँदै
२०५६ सालमा स्थापना भएको साहित्य चौतारीले रजत वर्ष मनाइरहेको छ । रजत वर्षका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

स्थापना हुँदै गर्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्य चौतारीको उद्घाटन गरेका थिए । साहित्य चौतारीले सधैँ राष्ट्रकविलाई सम्झदै आएको छ ।

सोमवारको मासिक सांगीतिक काव्यसभामा पनि राष्ट्रकविका रचना गुञ्जिएका थिए । उनको तेस्रो स्मृति दिवस पनि हो । साहित्य चौतारीको स्थापनामा राष्ट्रकवि घिमिरेको महत्वपूर्ण योगदान भएको संरक्षक श्रेष्ठले बताए । कार्यक्रममा आर्ट स्टुडियो चारपानेको महिला टोलीले पञ्चेबाजा बजाएको थियो ।

‘जन्मदिनमा बत्ती निभाएर केक काट्नु गलत’
सम्मानित प्रतिभा हरिचरण बानिया नेपाली समुदायले आफ्नो परम्परागत संस्कृति बिर्सिन थालेको बताउँछन् । कार्यक्रममा उनले बत्ती निभाएर जन्मदिन मनाउने नेपालीको परम्परा हुन नसक्ने बताए ।
‘केक काट्ने र बत्ती निभाउने चलन हाम्रो होइन’, बानियाले भने, ‘यसलाई हामीले छोड्नु पर्छ ।’ अंकल, आन्टी र सर म्याडमका नाममा सबै साइनो र सम्वन्धहरु सकिएको स्मरण गर्दै बानियाँले यसमा सचेत हुने बेला आएको बताए ।

साहित्यकार भवानी क्षेत्री कार्यक्रममा खादाको प्रयोग घटाउँदै लैजानु पर्ने बताउँछिन् । सम्मानस्वरुप विभिन्न संस्थाले खादा लगाइदिने गरेको स्मरण गर्दै क्षेत्रीले भनिन्, ‘खादा यतिधेरै भइसके । त्यसको उपयोगिता गर्न मुस्किल छ । डढाउँदा पनि विषादीयुक्त धुँवा निस्किने हो ।’

साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा सहसचिव देवीचरण भण्डारीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन मासिक सांगीतिक काव्यसभाकी संयोजक सुनिता तामाङले गरेकी थिइन् ।
मासिक सांगीतिक काव्यसभाअन्तर्गत गायन तथा नृत्यमा विभिन्न प्रतियोगी फाइनल चरणमा प्रवेश गरेका छन् । १५ वर्ष मुनिका प्रतिभाबीच प्रतिस्पर्धा भएको हो । गायनतर्फ प्रसुन गुरागाई, अर्पण सिटौला, डेविडजंग रिजाल र नृत्यतर्फ साया सुवेदी, प्रेसा राई, इसिता मुखिया फाइनलमा प्रवेश गरेका हुन् । बालदिवसको अवसरमा उनीहरुबीच भदौ २९ मा प्रतिस्पर्धा हुनेछ ।

होटल हिकोला हेरिटेजको आठौँ वार्षिकोत्सव
मासिक सांगीतिक काव्यसभासँगै होटल हिकोला हेरिटेजको आठौँ वार्षिकोत्सव पनि मनाइएको छ । सोमवारदेखि होटल नवौँ वर्षमा प्रवेश गरेको हो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले खोलिएको होटलले व्यावसायिक सफलता हासिल गर्दै गएको सञ्चालक देवीभक्त श्रेष्ठले बताए । छोरी मनिताको जन्मदिनको अवसर पारेर श्रेष्ठले आठ वर्षअघि होटल सञ्चालनमा ल्याएका थिए ।

होटलको वार्षिकोत्सवलाई जोडेर कार्यक्रममा साहित्यकार बिनोद खनालले पर्यटन प्रवर्द्धनमा साहित्य, संगीत, कला, भाषा, संस्कृतिको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । होटलका प्रवन्ध निर्देशक गौरव श्रेष्ठ पर्यटकको चाहना अनुसारका सेवा सुविधा विस्तार गर्दै लैजाने नीति रहेको बताउँछन् । ‘छिट्टै कफीसप सञ्चालन गर्ने योजनामा छौँ’, प्रवन्ध निर्देशक श्रेष्ठले भने ।नवौँ वर्ष प्रवेशको अवसरमा होटलले खानामा १० प्रतिशत र रुममा १५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । आगामी तीन महिनासम्म छुट सुविधा उपलब्ध रहेको होटलका मेनेजर विवेक बरालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्