झापा , भदौ ७ । लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ ।

आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो । लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको भेटमा उक्त प्रस्ताव गरेका हुन् । भेटको क्रममा गोजाएलले लेबनानमा विभिन्न क्षेत्रमा रोजगारीको अवसर रहेको र केही नेपालीलाई लैजान सकिने प्रस्ताव गरेका हुन् । मन्त्रालयका सह-सचिव राजीव पोखरेलले श्रम समझदारी गरेर श्रमिकहरू पठाउने प्रस्ताव गरेको बताए । लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताएका थिए । ‘लेबनानले कामदार लैजाने प्रस्ताव गरेको थियो । श्रम समझदारी गरौँ । श्रमिकहरू पठाऊ भन्ने थियो । हाम्रोमा राम्रो सेवा सुविधा छ । अवसरहरू पनि धेरै छन् भन्नुभएको थियो ।’ पोखरेलले भने ।

श्रम समझदारीको ड्राफ्ट तयार पारेर सोही आधारमा अगाडि बढ्न मन्त्रालय तयार देखिएको छ । लेबनानमा हाल १ हजार २०० नेपाली रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर प्रत्येक वर्ष केही नेपाली जाने गरेका छन् । लेबनानले विशेष गरी घरेलु कामदार लैजाने प्रस्ताव गरेको हो । त्यस्तै निर्माण क्षेत्रका लागि समेत कामदार लैजान सकिने बताएको हो । लेबनानमा अहिले ठुल्ठुला भवन तथा निर्माण क्षेत्रमा राम्रो अवसर देखिएका छ । त्यस्तै हस्पिटालिटी क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो । ठुल्ठुला होटेल खुलिरहेको भन्दै त्यसका लागि केही नेपाली कामदार लैजाने प्रस्ताव गरेको पोखरेलले बताए । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९-८० मा ५४ जना नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर लेबनान गएको देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्