झापा , भदौ ७ । आज बिहीबारदेखि नेपाल आर्ट काउन्सिलमा बृहत् कला प्रदर्शनी हुने भएको छ ।

हिमालयन आर्ट फेस्टिभल नाम दिइएको प्रदर्शनी इ-आर्ट्स नेपालले सन् २०१७ देखि निरन्तर रूपमा हरेक वर्ष नेपालीहरूको महान् चाड दशैँको अवसर पारेर आयोजना गर्दै आएको छ । इ-आर्ट्स नेपालका सहसंस्थापक आशा डंगोलले भने, ‘दशैँमा धेरै मेला आयोजना भइरहेका हुन्छन् । नेपाली कलाको कमी थियो, सोही अवस्था मनन् गर्दै नेपाली कलाकारको समकालीन अवस्था र प्रोत्साहनसाथ सन् २०१७ देखि फेस्टिभलको आयोजना गर्दै आइरहेका छौँ ।’ नेपाली कलाकृति नेपालीहरूकै घरमा सजिऊन् भन्ने उद्देश्य पनि प्रदर्शनीको रहेको उनले बताए । प्रदर्शनीमा ८० भन्दा बढी कलाकारले आफ्नो कला प्रदर्शनीमा राख्नेछन् । सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिबाट सुरु गरिएको फेस्टिभलमा जम्मा ५० जना कलाकारले भाग लिएका थिए । आयोजकका अनुसार यस पटक प्रदर्शनीमा कलाका विभिन्न विधा समेटिएको छ । कलाकार कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, भाइराज महर्जन, प्रदीप बज्राचार्य, प्रमीला बज्राचार्य, विनोद प्रधान, जुपिटर प्रधान, विधाता केसी, सागर मानन्धर, अजय बज्राचार्य, सरिता डंगोलदेखि हालका युवा कलाकारमा इशान परियार, सविता डंगोल, सुजन डंगोल, मुना भँडेललगायत करिब ८० जना कलाकारको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ । भदौ १३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटनका दिन प्राध्यापक गोविन्द नारायण ‘ज्यापु’ लाई सम्मान गरिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्