झापा , भदौ ७ । मोरङको उर्लाबारी नगरपालिका-३ स्थित जंगलभित्र बुधबार साँझ एकजना पुरुष मृत फेला परेका छन् ।

सालबारी सामुदायिक वनभित्र उर्लाबारी-७ का ६० वर्षीय गंगाबहादुर पौडेलको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ‘पौडेल दुई दिनदेखि बेपत्ता बनेको खुलेको छ,’उनले भने,‘सुरुमा पहिचान खुलेको थिएन । पछि बुझ्दै जाँदा शव पौडेलको रहेको पत्ता लागेको हो । ’ घाँस दाउरा गर्न जंगल गएकाहरूले साँझ ५ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । घटनास्थलनजिकै विषादीको जस्तो देखिने बट्टा फेला परेको छ । विषादी सेवनबाटै मृत्यु भएको हो कि घटनाको अरु कुनै कारण छ भन्ने यकिन हुन बाँकी रहेको डीएसपी दाहालले बताए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लागिएको छ । ‘घटना शंकास्पद देखिएको छैन । मृत्युको कारण भने यकिन हुन बाँकी छ,’ उनले भने, ‘शवलाई पोस्टमार्टमाका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानपछि मृत्युको कारण पत्ता लाग्छ ।’ पहिल्यैदेखि ‘डिप्रेशन’को समस्या रहेका पौडेलले नियमित औषधि सेवन गर्ने गरेको जानकारी परिवारका सदस्यले दिएको डीएसपी दाहाल बताउँछन् । उनका अनुसार पौडेल घरबाट २ दिनअघि बेपत्ता भएको खुलेको छ । ‘परिवारका सदस्य कसैलाई पनि जानकारी नगराइकन पौडेल घरबाट हिँडेको पाइएको छ,’उनले भने,‘यस विषयमा पनि थप अनुसन्धान भइरहेको छ ।’ दाहालका अनुसार उनी गत सोमबार साँझ ५ बजेदेखि परिवारबाट सम्पर्कविहीन बनेको पाइएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्