बिर्तामोड, भदौ ८ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले एमसीसी कार्यान्वयनविरुद्ध मेची ब्युरोअन्तर्गत झापा ,इलाम र पाँचथरमा एमसीसी सम्झौताको पुत्ला दहन गरेको छ ।

बिहीवार नेकपाका नेता कार्यकर्ताले झापाको बिर्तामोडस्थित मुक्तिचोक, इलाम सदरमुकाम र पाँचथरमा एमसीसी सम्झौता जलाएका हुन् ।

इलाम र पाँचथरको कार्यक्रम सामान्य रुपमा सम्पन्न भएपनि बिर्तामोडको कार्यक्रममा भने प्रहरीले हस्तक्षेप गरेको थियोे । हस्तक्षेप भएपछि विप्लवका कार्यकर्ताले विभिन्न नाराबाजी गर्दै कोणसभा गरेका थिए । भद्रपुर बस स्टेसनबाट विभिन्न नाराबाजीसहित मुक्ति चोकमा आएका उनीहरुले शरीरमा नो एमसीसी लेखेका थिए।
विर्तामोडमा भएको कोणसभालाई सञ्चालन गर्दै नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सचिव तथा केन्द्रीय प्रतिनिधि समिति सदस्य सञ्जय सीले राष्ट्रिय स्वाधिनताको आन्दोलनमा दमन गर्नेको हिसाबकिताब हुने भन्दै प्रहरी दमन खेदजनक रहेको बताएका छन्।

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य प्रशान्त सीले नेपाली जनताको आन्दोलनलाई मत्थर बनाएर एमसीसी कार्यान्वयन गर्न खोजेपनि सम्झौता कार्यान्वयन हुन नदिन सबै नेपाली जनता एक ठाउँमा उभिएर प्रतिरोधमा संघर्ष गर्नुपर्नेमा देशकै सुरक्षा निकायले हस्तक्षेप गर्नु निन्दनीय रहेको बताए । साथै उनीहरुले मुक्ति चोकमा हिजो लगाएको ब्यानर प्रहरीले हटाएको भन्दै आज पुनः कालो ब्यानर राखेका छन् । पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत एमसीसीका प्रमुख खड्कबहादुर बिष्टको पुत्ला दहन गर्ने , विभिन्न स्थानमा अन्तरक्रिया गर्नेलगायतका कार्यक्रम रहेको नेकपाले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्