भद्रपुर, भदौ ८ । भद्रपुर– १० चन्द्रगढी निवासी स्वर्गीय काशीनाथ अधिकारीको स्मृतिमा अधिकारी परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाको सहारा पत्रकार उपचार कोषलाई १० हजार एक सय पाँच रूपैयाँ सहयोग गरेका छन् ।


गत वर्ष भदौ ८ गते ७० वर्षको उमेरमा उपचारको क्रममा निधन भएका पति तथा ससुरा बुबाको स्मृतिमा पत्नी गंगादेवी अधिकारी र बुहारी मञ्जु खतिवडा अधिकारीले पत्रकार उपचार कोषलाई सो रकम सहयोग गरेका हुन् । रकम बुझ्दै उपचार कोषका संयोजक केशव भट्टराईले सहारा पत्रकार उपचार कोष झापाली सञ्चारकर्मीको साझा कोष भएकाले दाताहरूको माया पाइरहेको बताए ।

खोटाङ जिल्लाको साविक डुम्रे धारापानी १ हिडपा गुहेलेमा २००९ साल असोज १३ गते जन्मेका स्वर्गीय अधिकारी लामो समय सरकारी सेवामा कार्यरत राष्ट्रसेवक थिए । उनी परिवारसहित भद्रपुर १० चन्द्रगढीमा २०६० सालदेखि स्थायी बसोबास गर्दै आएका थिए । १० वर्ष सरकारी शिक्षकका रूपमा सेवा गरेका उनले ३२ वर्ष निजामती कर्मचारी भएर सेवा निवृत्त भएका थिए । पाचन प्रणालीमा पलाएको ऐजरूको शल्यक्रियाको क्रममा २०७९ भदौ ८ गते भक्तपुरको सल्लाघारी क्यान्सर अस्पतालमा उनको निधन भएको थियो ।

स्वर्गीय अधिकारीका दुई छोरा द्रोण अधिकारी र ठाकुर अधिकारी छन् भने एक छोरी अनिता अधिकारी पोखरेल र ज्वाइँ डिल्ली पोखरेल तथा बुहारीहरू मञ्जु खतिवडा अधिकारी र राधा रिमाल अधिकारी सहित दुई नाती र दुई नातिनी रहेका छन् ।
स्वर्गीय अधिकारीले खोटाङमा रहँदा विद्यालय स्थापनादेखि सामाजिक जागरणसम्मका समाजसेवाका काममा योगदान पुर्याएको स्मरण गर्दै परिवारले समाजमा केही न केही देन दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्