बिर्तामोड, भदौ ९ । गत जेठ ८ गते बिर्तामोड नगरपालिकाले डोजर लगाएर टहरा भत्काइदिएपछि बिचल्लीमा परेका बिर्तामोड बुधबारे हटियाका व्यवसायीहरुले आफै बजार निर्माण गरी व्यवसाय संचालन गरेका छन् ।

पुरानो बजारको नजिकै उत्तर पूर्वमा करिव डेढ करोड रुपैयाँको लागतमा निर्माण गरिएको बजारको नामकरण उनीहरुले नयाँ बुधबारे बजार गरेका छन् । नगरपालिकाले टहरा भत्काउँदा करिव १४० जना व्यवसायी बिस्थापित भएका थिए । त्यसमध्ये ६० जना व्यवसायीहरुले मिलेर जग्गा लिजमा लिई आफै नयाँ बुधवारे बजार निर्माण गरेका हुन् । २६ वटा कपडा , २२ वटा जुत्ता , ३ वटा कस्मेटिकलगायतका पसल रहेको सो व्यवस्थित बजारको आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् ।

उनले समन्वय गर्नेहरुको अराजक गतिविधि र घुसपैठका कारण बुधवारे हटियाका व्यवसायीहरुले दुःख पाएको भन्दै खेद व्यक्त गरिन् । उनले खाली गराउनेक्रममा व्यवसायीमाथि अन्याय भएको स्वीकार्दै विनासपछि विकास हुन्छ भन्ने कुरालाई मम गरेको बताइन् । बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले बुधवारे हटिया खाली गराउने बेलामा राजनीतिकरण भएकाले आफूहरुले व्यवसायीहरुलाई व्यवस्थापन गर्न नसकेको बताए । उनले असहज परिस्थितिबाट गुज्रिएर व्यवसायीहरुले आफ्नो व्यवस्थापन आफै गरेकोमा खुशी व्यक्त गरे । चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण बिमलीले संघर्षबाट गुज्रिदै बुधवारे हटियाका व्यवसायीहरुले बजार स्थापना गरेकोमा बधाई दिए ।

त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले नगरपालिकाले खाली गराउन खोज्दा विभिन्न संघसंस्थाले उचाल्दा व्यवसायीहरुले दुःख पाएको स्मरण गर्दै आफ्नो पौरख र विवेकले समस्या समाधान गरेकोमा व्यवसायीहरुप्रति सम्मान जनाए । अम्बिका दर्नालको ९ धुर , गंगा दर्नालको १० धुर , कमल श्रेष्ठको २ कठ्ठा ३ धुर र अर्का एकजनाको ६ धुर जग्गा लिजमा लिई आफूहरुले ५६ दिनमा ६० वटा सटर निर्माण गरेको वजार व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद अधिकारीले बताए । उनले मासिक ७१ हजार रुपैयाँ रुपैयाँ तिर्नेगरी एकजना व्यवसायीले प्रतिसटर करिव ३ लाख रुपैयाँ खर्च गरेर बजार निर्माण गरेको जानकारी दिए ।

बजार निर्माण गर्नका लागि सीताराम दंगालको अध्यक्षतामा समिति निर्माण गरिएको थियो । समितिका अध्यक्ष दंगालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख प्रसाई , वडाध्यक्ष प्रसाई , चेम्बर अफ कमर्सका अध्यक्ष विमली , बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव मैनालीलगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सन्तोष बुढाथोकीले गरेका थिए भने संचालन सचिव अधिकारीले गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलाई निमन्त्रणा गरिएकोमा नगर प्रमुख आउने भएपछि आफू नआउने भनेर जवाफ दिएको सचिव अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्