झापा, भदौ ९ । तेह्रथुमको आठराई – ५ स्थित पोखरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीप्रसाद संग्रौलाको अटेरीप्रति सरोकारवालाहरुले चासो राख्दै तीब्र विरोध जनाएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भइसकेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमान कन्दङ्वालाई काम गर्न नदिएकोमा प्रधानाध्यापक संग्रौलाको रवैयाको उनीहरुले विरोध जनाएका हुन् । त्यस विद्यालयका पूर्व विद्यार्थी, पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् शुभेच्छुकहरुले शनिवार सामूहिक प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको परमादेशलाई उल्लंघन गर्ने अधिकार कसैलाई पनि नभएको स्पष्ट पारेका छन् ।

‘सम्मानित सर्वोच्च अदालतको परमादेशलाई उल्लंघन गर्ने अधिकार कसैलाई पनि छैन । सर्वोच्चकै फैसलाबाट हाम्रो देशका संघीय र प्रादेशिक सरकारहरु विघटन र पुनर्गठन भएका उदाहरणहरू हाम्रासामु घामजतिकै छर्लङ्ग छन् । अतः आ–आफ्ना आस्थाभन्दा माथि उठेर सम्मानित सर्वोच्च अदालतको मिति २०७९–१२–१५ को उत्प्रेषण परमादेशलाई पूर्ण सम्मान र परिपालन गर्दै विद्यालयको वातावरणलाई धुमिल हुन नदिई उदाहरणीय रूपमा विद्यार्थीहरुको पठनपाठन गर्न पाउने अधिकार सुनिश्चित गर्न गराउन सरोकारवाला सम्पूर्ण निकायसमक्ष हार्दिक अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

आठराई गाउँपालिकाले २०७९ को माघमा पुराना विद्यालय व्यवस्थापन समिति विघटन गरी नयाँ समिति गठन गर्नेगरी शिक्षा ऐन जारी गरेको थियो । त्यस निर्णयको विरुद्धमा आठराईका पोखरी मावि र सरस्वती आधारभूत विद्यालयले सर्वोच्चमा उजुरी दिएका थिए । सर्वोच्चले अर्को व्यवस्था नभएसम्म पुरानो समितिलाई पुनर्स्थापित गर्न आदेश दिएको थियो ।तर , सर्वोच्चको त्यस परमादेशलाई प्र.अ. संग्रौलाले कार्यान्वयन गरेका छैनन् ।

विद्यालयको आर्थिक, भौतिक, शैक्षिक समग्र विकासको मेरुदण्ड भनेको विद्यालयको प्रशासक भएको र विद्यालयको अभिन्न अंगको रूपमा रहेका शिक्षक, अभिभावक,विद्यार्थी, शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समिति समेतलाई एउटै यानमा राखेर कुशलतापूर्वक गन्तव्यमा पु¥याउने सारथी नै प्रधानाध्यापक भएको सुझाउँदै सरोकारवालाहरुले चालकको सानो कमजोरीले गाडी दुर्घटना हुन सक्ने र त्यसमा सवार गर्ने यात्रीहरूको अवसान हुन सक्ने भएकाले राज्यको नीतिनियमहरुको पूर्ण पालना गर्न प्र.अ. संग्रौलालाई आग्रह गरेका छन् । उनीहरुले विद्यालयको वातावरण धमिलिदै गएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस विद्यालयको बदनाम र विनास पटक्कै स्वीकार्य नभएको चेतावनी दिएका छन् । विद्यालयको वर्तमान समस्याप्रति जिम्मेवार गाउँपालिका, गाउँ शिक्षा समिति, विद्यालय प्रशासन, सम्पूर्ण शिक्षक साथीहरू, अभिभावकहरू तथा विद्यार्थीहरू सबैले यस गम्भीर विषयलाई समयमा नै अनि महत्वपूर्ण विषय ठान्दै तत्काल समस्या समाधान गर्न उनीहरुको आग्रह रहेको छ ।

विज्ञप्ति जारी गर्नेहरुमा तेजबहादुर कन्दङवा–वि.व्य.स. पूर्व अध्यक्ष, देवेन्द्रराज कन्दङ्वा– वि.व्य.स. का पूर्व अध्यक्ष, बद्रीप्रसाद ओली– पूर्व प्रधानाध्यापक,रामचन्द्र मैनाली – पूर्व प्र.अ., गोपालप्रसाद संग्रौला– पूर्व प्र.अ., अनिरुद्र ओली– पूर्व प्र.अ., हरिनारायण भट्टराई – पूर्व प्र.अ., रामकुमार कन्दङ्वा– वि.व्य.स.पूर्व सदस्य, लोकबन्धु कन्दङ्वा– पूर्व विद्यार्थी,पुष्पकुमार खनाल – पूर्व शिक्षक , उमानाथ ओली – पूर्व विद्यार्थी ,गुरुभक्त न्यौपाने– पूर्व विद्यार्थी ,राजेन्द्र संग्रौला– पूर्व शिक्षक ,गणेश ओली – पूर्व विद्यार्थी ,नरेन्द्र सिलवाल – पूर्व विद्यार्थी र उमानाथ सिलवाल – पूर्व शिक्षक रहेका छन् ।

२०१६ सालमा स्थापित यो विद्यामन्दिर जनसहभागिताको हिसावले आठराईकै महत्वपूर्ण विद्यालयको रूपमा परिचित छ । यस विद्यालयलाई जिम्दार देवीप्रसाद उप्रेतीले १८५–१०–०५ विगाह, गंगाप्रसाद प्रसाई (भान्जाबाबु) ले १३–०१–० विगाह र नारायणप्रसाद ओलीले ४–१५–० विगाह झापा जिल्लाका उर्वर जग्गाहरू दान दिएका थिए । यसैगरी विद्यालयको हाताभित्रको जम्मा २८२ रोपनी जग्गा फुङसिङ मौजाका १९ जिम्मावालहरु (कन्दङ्वा परिवार) र यावन मौजाका १२ जिम्मावालहरु (इङनाम परिवार) समेतले दान दिएका थिए ।त्यसरी नै विद्यालयको स्वर्ण महोत्सव २०६७ सम्म आइपुग्दा झापा र काठमाडौँमा रहेका विद्यालयका शुभचिन्तकहरूले विद्यालयको उन्नयन, पुस्तकालय निर्माण र छात्रवृत्ति कोषका लागि लाखौं रकम प्रदान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्