झापा, भदौ ९ । झापामा केही महिनायता वन फडानी तीब्र रुपमा बढेको छ ।वर्षा मौसमको मौका छोपी चोरी तस्करी गर्नेहरुको समूह सक्रिय बनेको हो ।

गत असार ६ देखि साउन ३० गतेसम्म चोरी तस्करीका २ हजार २३६.४३ क्युफिट काठ बरामद भएको छ । जम्मा ३० वटा चोरी तस्करीका घटनामा त्यति ठूलो परिमाणमा काठ बरामद भएको हो । चोरी तस्करीमा संलग्न २२ जना पक्राउ परेका छन् भने ६ जना फरार रहेका छन् । त्यस्तै चोरी तस्करीमा प्रयोग भएका २४ वटा बोझवाहक सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । ७ वटा ट्रयाक्टर ,एउटा मोटरसाइकल ,१३ वटा साइकल ,एउटा बोलेरो ,एउटा अटो र एउटा पिकअपलाई काठसहित नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय भद्रपुरकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन् । बरामद गरिएका काठ अधिकांश साल जातको रहेको छ । साल जातको गोलिया र चिरान काठसंगै मसला , सिसौ , कर्मा , टिक ,आँप ,छतिवन, कपोक र कदमको काठ चोरी तस्करी हुँदै गर्दा बरामद गरिएको सहायक वन अधिकृतसमेत रहेकी पुरीले बताइन् ।

चोरी तस्करीको तथ्यांक

सबैभन्दा धेरै दमक क्षेत्रमा चोरी तस्करी हुने गरेको छ । त्यसपछि मेचीनगर र सुरुङ्गा क्षेत्रमा हुने गरेको पाइएको छ । चोरी तस्करीका घटना जलथल जंगलमा पनि हुने गरेको घटनाक्रमले देखाएको छ । केही महिनायता वन पैदावार चोरी तस्करीका घटना बढेको बताउँदै सहायक वन अधिकृत पुरीले डिभिजन वन कार्यालय र मातहतका सव डिभिजन वन कार्यालयहरुले गस्तीलाई तीब्रता दिँदा ठूलो परिमाणमा काठसहित मानिस पक्राउ परेको जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्