दमक , भदौ ९ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगानको जग्गा सट्टाभर्नाको निर्णय कानुन बनाएर गरेको दावी गरेका छन्।


कमिसन खाएर उक्त निर्णय गरेको भन्दै छानबिन हुनुपर्ने माग उठेपछि ओलीले कानुन बनाएर स्थानान्तरणका लागि निर्णय गरेको प्रतिक्रिया दिँदै आएका छन्। शनिबार गृहजिल्ला झापाको दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गिरीबन्धु चिया बगानको बोट ६० वर्षभन्दा बुढो भएको र अब काम नदिने भनेर निवेदन आएपछि स्थानान्तरणको निर्णय गरेको बताए। ओलीले अर्काको सम्पत्तिमा स्थानान्तरण रोक्न आफू अंशियार नभएको बताए।

गिरीबन्धु चिया बगान सञ्चालक निवेदन लिएर आएपछि आफूले कानुन र नियम बनाएर निर्णय गरेको ओलीको भनाइ छ। ‘मैले कानुन बनाइदिएँ। कानुन कार्यान्वयन गर्न नियम बनाइदिएँ। उहाँहरूले आदेश मान्नुभयो। १३ वैशाख ०७८ मा सर्त राखेर भूमिसुधारले हेरेर त्यो जमिन ठीक भयो भने वातावरणीय मूल्यांकन गरेर दिन्छ भनेँ,’ उनले भने।

कमिसन खाएर काम गर्नलाई आफू कांग्रेस–माओवादी नभएको भन्दै ओलीले अन्य दलले नयाँ बसपार्क बनाउने नाममा कमिसन खाएर बगानको ७० बिघा जग्गा स्थानान्तरणका लागि निर्णय गरेको दाबी गरे। ‘गिरीबन्धु टि इस्टेट केपी ओलीले खायो भन्छन्। तिनीहरूले एकपटक १९ र एकपटक ५१ बिघा गरेर ७० बिघा जमिन टी इस्टेटलाई सट्टाभर्ना गर्न दिएका थिए। बसपार्क क्षेत्रको भनेको ७० बिघा गैरकानुनी ढंगले कमिसन खाएर गरेको कारोबार हो।’

कमिसन खाएको भए आफू सरकारसँग तर्सिसकेको हुनुपर्ने भन्दै अध्यक्ष ओलीले भ्रष्ट तत्वहरूविरुद्ध आवाज कम नगर्ने बताए।
ओलीलाई पहिचानवादीहरुले कालो झन्डा देखाउने कार्यक्रम रहेको थियो । तर, उनीहरुलाई छक्याउँदै ओली अर्को बाटोबाट कार्यक्रमस्थल पुगेका थिए । ओलीसँगै नेता रघुबिर महासेठ, विशाल भट्टराईलगायत करीब एक दर्जन केन्द्रीय नेताहरु कार्यक्रममा उपस्थित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्