झापा, भदौ १० । झापाको अर्जुनधारा नगरपालिका– ५ स्थित बिहीबारे बजारका २५ बर्षिय युवा प्रदीप श्रेष्ठको दुबै मिर्गौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।


आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठको दुवै मिर्गौला फेल भएपछि उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सबैलाई अपिल गरेका छन् ।

१७ दिनअघि प्रेसर बढेपछि उनलाई सुनसरीस्थित धरानको बीपी कोइराला प्रतिष्ठान लगिएको थियो । उनको परीक्षणपछि दुवै मिर्गौला फेल भएको श्रेष्ठको उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठको उपचारमा आर्थिक सहयोगका लागि स्थानीयहरुको भेलाले ‘प्रदीप श्रेष्ठ बचाउ अभियान’अन्तर्गत आर्थिक संकलन समिति निर्माण गरेको छ । समितिको संयोजकमा प्रदीपका दाजु नारायण श्रेष्ठ, सचिवमा डम्बर थापा, कोषाध्यक्ष शिवकुमार श्रेष्ठ, सदस्यमा अर्जुन रेग्मी, टेकबहादुर गिरी, गीता श्रेष्ठ र टेकबहादुर बस्नेत रहेका छन् ।

हाल प्रदीप काठमाडौंको भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन् । उनलाई मिर्गौला प्रत्यारोपण गर्न उनकै परिवारभित्रका आफ्नै दाजु बिष्णु श्रेष्ठले दिने भएका छन् ।
तर, आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणमा लाग्ने खर्चका लागि उनका बुवा मणिकुमार तथा आमा इन्दिराकुमारी श्रेष्ठले सवैलाई सहयोगको लागि अपिल गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि करिव १० देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायणले जानकारी दिएका छन् ।

समितिले शनिवार बिहीबारे बजारमा राखेको भेलामै ३७ हजार ६३० रुपैयाँ संकलन भएको समितिका सदस्य अर्जुन रेग्मीले जानकारी दिए ।
त्यस्तै प्रदीपको आर्थिक अवस्था देखेर नेवाः देय दबु अर्जुनधारा नगर समितिले १० हजार रुपैयाँ प्रदान गरेको समितिका कोषाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

उनको उपचारमा आर्थिक सहयोग गर्ने इच्छुकले अर्जुनधारा–५ स्थित लक्ष्मीपुर चोकमा रहेको प्राइम कर्मसियल बैंकमा उनका दाजु नारायण श्रेष्ठको नाममा रहेको खाता नम्बर १०६००४५६ पीडीमा सहयोग गर्न सक्ने छन् । त्यस्तै मोबाइल नम्बर ९८१४९९८९४१ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्