झापा , भदौ १२ । डाक्टर निरज यादवको निधनप्रति कन्काई हस्पिटलले दुःख व्यक्त गरेको छ ।

आज बिहान मोरङको उर्लावारीमा मोटरसाइकल दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर यादवको मृत्यु भएको हो । आज बिहान ६.१५ बजे उर्लाबारी– ४ स्थित ऊँ सत्य साई पेट्रोल पम्पनजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यादवले चलाएको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका सप्तरी रुपनी ६ घर भएका २८ वर्षीय डा. यादवको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए ।

डा. यादवको निधनले कन्काई हस्पिटललाई ठूलो क्षति पुगेको हस्पिटलका अध्यक्ष युवराज डाँगीले बताए । ‘एकजना मिलनसार , हँसिलो र दक्ष चिकित्सक हामीले गुमाउनु पर्यो ’उनले भने । एमबीबीएस गरेका डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत रहेका थिए । हस्पिटलमा ड्युटी गर्नका लागि घरबाट आउँदै गर्दा उनी दुर्घटनामा परेको बताइएको छ । चार दिनअघि उनी घर गएका थिए । उनी गत फागुन २७ गतेदेखि कन्काई हस्पिटलमा कार्यरत थिए । त्यसअघि उनी बीएण्डसी हस्पिटलमा काम गर्थे ।

रुपनी ६ का शुभनारायण यादवका जेठा छोरा उनले काठमाडौंको चाहना इन्टरनेशनल हाइयर एजुकेशन सेकेन्डरी स्कूलबाट एसएलसी उत्तीर्ण गरेका थिए । त्यस्तै विराट साइन्स क्याम्पस विराटनगरबाट प्लस टु गरेका थिए । त्यस्तै जानकी मेडिकल कलेज जनकपुरबाट एमबीबीएस गरेको परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्