झापा, भदौ १३ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो ।

तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो ।
इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो । तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् । महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो ।

२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको थियो ।

अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले किटान गरेर प्रतिवेदन तयार पारेको थियो । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्