झापा, भदौ १३ । कचनकवल गाउँपालिकाले आधारभूत तह (निजी) शिक्षक छनौटको लिखित परीक्षा स्थगित गरेको छ ।

गाउँपालिकाले मंगलबार लिएको पहिलो पत्र वस्तुगततर्फको परीक्षाको ‘उत्तर’ एक दिनअघि नै भेटिएपछि शिक्षक छनौट परीक्षाको बारेमा प्रश्न उठेको थियो । सो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी कचनकवलले बुधबार गाउँपालिकालाई ध्यानाकर्षण गराउँदै अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

शिक्षक छनौट परीक्षाको बारेमा सवाल उठेसँगै घटनाको सत्यतथ्य छानबिनका लागि बुधवार लिने भनिएको विषयगततर्फको परीक्षा स्थगित गरिएको गाउँपालिका अध्यक्ष राजवंशीले बताए । ‘परीक्षाको बारेमा विभिन्न कुरा बाहिर आएपछि त्यसबारे परीक्षा समितिलाई बोलाएर तत्काल छलफल गरेका थियौँ,’ अध्यक्ष राजवंशीले भने, ‘घटनाको सत्यतथ्य बुझ्न परीक्षा केही दिनलाई सारेका छौँ, प्रमाणसहित कुरा आएको खण्डमा लिइएको परीक्षा रद्द हुन्छ ।’

गाउँपालिकाले मंगलबार लिएको परीक्षामा ३९ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये १५ जना विषयगत परीक्षाका लागि छनौट भएका छन् । गाउँपालिकाले छनौट भएका परीक्षार्थीको नामावली समेत सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्