झापा,भदौ १४ । भ्रष्टाचारको आरोपमा सप्तरीका पालिका प्रमुखहरु एकपछि अर्को मुछिदै गएका छन् । अहिलेसम्म चारजना पालिका प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरूविरुद्ध हिजो बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नम्बर–६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो ।

तर नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार नौ सय २१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ । अख्तियारले नगरपालिकाका पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यसअघि भ्रष्टाचारको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, राजविराज नगरप्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बित भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्