झापा, भदौ १४ । तीर्थयात्राका लागि भारत गएका झापाका एक तीर्थयात्रीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

झापा अर्जुनधारा ९ कार्कीडाँडा निवासी ५५ वर्षिया शारदा कार्कीको मृत्यु भएको हो । उनका श्रीमान जगतबहादुर कार्की र बिर्तामोड निवासी अनन्तलाल महत्तोका ससुरा बैजु महत्तो घाइते भएका छन् ।मंगलवार राति भारतको भागलपुरमा भएको सवारी दुर्घटनामा दुईजना महिला तीर्थयात्रीको मृत्यु भएको थियो भने तीन महिलासहित ६ जना गंभीर घाइते भएका थिए । त्यसमध्ये एकजना मृतक र दुईजना घाइते नेपालका हुन् ।

मंगलवार राति करिव सवा ९ बजेतिर भागलपुर –हंसडीहा मुख्य सडकअन्तर्गत रजौन थाना क्षेत्रको केशव वाटिका विवाह भवन बनगाउँनजिक तीर्थयात्रीहरु चढेको अटोलाई कारले ठक्कर दिएको थियो । दुर्घटनामा भागलपुर जिल्ला डिमहा गोपालपुर निवासी अनन्त चौधरीकी श्रीमती ममता देवीको पनि मृत्यु भएको हो । त्यस्तै गोपालपुरकै मृत्युञ्जयकुमार चौधरी , उनकी श्रीमती पुष्पादेवी , सोही परिवारका महादेव चौधरीकी श्रीमती चंचलदेवी ,मुकेश चौधरीकी श्रीमती ममतादेवी , केलावारीका अमितकुमार घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

अटोमा १२ जना सवार रहेका थिए ।उनीहरु बासुकीधाम पुगेर नवगछियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ । झापाका मृतक र घाइतेहरुलाई आज नेपाल ल्याउन लागेको आफन्त मिकी कार्कीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्