बिर्तामोड, भदौ १४ । चारपाने– राजगढ भित्री सडकअन्तर्गत झापा बाह्रदशी ५ को घोडामारा चोकनजिक आज बिहान भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी–३ का २२ वर्षिय सनम हेमरम रहेका छन् । बिहान ११ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे८प ३५६९ को मोटरसाइकलले बाटो काट्दै गरेकी पैदलयात्री स्थानीय ४५ बर्षीया मनि मर्डीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक हेमरमसहित तीनजना घाइते भएका थिए । उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याउनासाथ चिकित्सकले मोटरसाइकल चालक हेमरमलाई मृत घोषणा गरेका थिए । त्यस्तै दुर्घटनामा पैदलयात्री मर्डी घाइते भएकी छन् । उनको छाती र दाहिने खुट्टामा चोट लागेको छ । त्यस्तै मोटरसाइकलको पछाडि सवार बिर्तामोड ३ बस्ने २३ वर्षिय समिर महमद पनि घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियो ।

पैदलयात्रीलाई बिर्तासिटीमा बेड खाली नभएकोले बीएण्डसी हस्पिटल लगिएकोमा त्यहाँ बेड पनि खाली नभएपछि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । मोटरसाइकलको पछाडी सवार महमद उपचारपश्चात् डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मोटरसाइकल प्रहरी चौकी फूलवारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्