झापा, भदौ १५ । नेपालबाट निर्यात हुने उत्पादनमध्ये ठूलो हिस्सा ओगट्ने कालो सुनको नामले परिचित अलैँचीको मूल्य यसपटक वृद्धि भएको छ ।

अहिले राम्रो अलैँचीको मूल्य प्रतिमन ६० हजार रुपैयाँ रहेको अलैँची व्यवसायी महासंघले जनाएको छ । कुनै वेला एक लाखभन्दा बढीमा प्रतिमन बिक्री हुँदै आएको अलैँची केही समयअघि प्रतिमन २० देखि २३ हजारसम्म पनि कारोबार भयो । निरन्तर ओरालो लागेको अलैँचीको मूल्य गत वर्षदेखि भने सुधार आएको हो । ‘सात–आठ वर्षपछि अलैँचीले राम्रो मूल्य पायो । एक महिनाअघि त राम्रो अलैँचीको मूल्य ६८ हजारसम्म पुग्यो,’ अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले भने ।

उनले नेपालको अलैँची राम्रो भएका कारण यसपटक मूल्य बढेका कारण ‘होल्ड’ नभई निर्यात भएको बताए । ‘भारतका व्यापारीले नेपालमा अब उत्पादन घट्ने अनुमान गरेर अलैँचीको मूल्य बढ्ने आसले खरिद गरेर स्टक गरे । जसका कारण बजारमा अलैँचीको अभाव भयो । त्यही भएर अलैँचीको मूल्य बढ्यो,’ उनले भने, ‘यस वर्ष नेपालमा भने अलैँची स्टक भएन । १० हजार मेट्रिकटनमध्ये झन्डै आठ हजार मेट्रिकटन अलैँची असार मसान्तसम्म निर्यात भयो ।’

नेपालका ४३ जिल्लामा विस्तार भएको अलैँची खेती सबैभन्दा बढी पूर्वको ताप्लेजुङमा फल्छ । गुणस्तरको हिसाबले संखुवासभा पहिलो रहेको महासंघले जनाएको छ । अलैँचीको कारोबार हुने हिसाबले झापाको बिर्तामोड नेपालकै प्रमुख व्यापारिक केन्द्र हो । पूर्वीनाका काँकडभिट्टाबाट अलैँची निर्यात हुने गरेको छ । यसबाहेक अन्य केही नाकाबाट पनि भारततर्फ नगण्य रूपमा अलैँची निर्यात हुने महासंघले जनाएको छ । नेपाली अलैँची ९९ प्रतिशत भारतमा बिक्री हुने गरेको छ ।

गत वर्ष करिब १० हजार मेट्रिकटन अलैँची उत्पादन भएको अध्यक्ष भट्टराईले बताए । गत वर्ष उत्पादन मात्र वृद्धि भएन, अहिलेसम्मकै धेरै मूल्यको निर्यात पनि भयो । मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९÷८० मा आठ अर्ब २४ करोड १५ लाखको अलैँची निर्यात भएको छ । चालू आर्थिक वर्षको साउनमा मात्र ९६ करोड ४६ लाखको अलैँची भारत निकासी भएको तथ्यांक छ ।
मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७८÷७९ मा चार अर्ब ७६ करोड ४३ लाखको निर्यात भएको थियो । यस्तै, आर्थिक वर्ष ०७७÷७८ मा ६ अर्ब ८९ करोड ५४ लाखको अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । यस्तै, आर्थिक वर्ष ०७६÷७७ मा चार अर्ब १९ लाखको अलैँची निर्यात भएको थियो भने आर्थिक वर्ष ०७५÷७६ मा दुई अर्ब ९७ करोड ८९ लाखको मात्र अलैँची निर्यात भएको भन्सारको तथ्यांक छ ।
नेपालका ४३ जिल्लामा विस्तार भएको अलैँची उत्पादन भदौदेखि कात्तिक अन्तिमसम्म हुन्छ । कृषकले बिक्री गरेको अलैँची झापाको बिर्तामोडसम्म कारोबार हुने गरेको छ । यस वर्षको नयाँ उत्पादन पनि बजारमा आउन थालेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्