झापा, भदौ १६ । चिया श्रमिकहरुले भदौ १८ गतेदेखि सम्पूर्ण चिया बगान र कारखाना बन्द गर्ने निर्णय गरेका छन् ।

आफ्ना माग पूरा गराउन पटक–पटक अल्टिमेटम दिएपनि बगान संचालकहरुले बेवास्ता गरेपछि आन्दोलनरत चिया श्रमिकहरुले चिया बगान र कारखाना बन्द गर्ने निर्णय गरेका हुन् ।

आज नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा भएको जिल्लाका चिया श्रमिक र श्रमिक नेताहरुको भेलाबाट सम्पूर्ण चिया बगान बन्द गर्ने निर्णय गरिएको नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक सन्तकुमार राईले बताए । चिया श्रमिकहरु विगत दुई महिनादेखि आन्दोलनरत छन् । उनीहरुले यसअघि भदौ ७ गतेदेखि नै बन्दको कार्यक्रम घोषणा गरेका थिए । श्रमिकहरुको माग संबोधन हुने आशामा उनीहरुले त्यसलाई भदौ १७ गतेसम्म स्थगित गरेका थिए । तर, बगान संचालकहरुले आफूहरुको मागप्रति पटक्कै वास्ता नगरेपछि बाध्य भएर बन्द हड्तालको कार्यक्रम गर्नुपरिरहेको नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक राईले जानकारी दिए ।

गत भदौ १ गते नेपाल सरकारले श्रमिकहरुको पारिश्रमिक निर्धारण गरी उक्त पारिश्रमिक भदौ १ गतेबाट लागु हुनेगरी राजपत्र समेत प्रकाशन गरी सकेकोले सोही मितिदेखि चियाबगानमा सो अवधिमा कार्यरत रहेका स्थायी तथा मौसमी कामदारहरुले समेत उक्त पारिश्रमिक पाउने व्यवस्था गर्नुपर्ने, अन्य पत्ति डबली बृद्धि, रोजगार सम्झौता र योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सबै चिया श्रमिकहरुलाई सूचीकृत गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघका उपाध्यक्ष सहिकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका झापा जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी , नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक सन्तकुमार राई , नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङलगायतले बोलेका थिए । कार्यक्रमको संचालन अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सिता सापकोटाले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्