कुमरखोद, भदौं १७ । झापा गाउँपालिकामा कृषि विकास बैंक नहुँदा यहाँका कृषकहरुलाई समस्या भएको छ ।

झापा गाउँपालिकाको वडा नं २ झापा बजारमा रहेको कृषि विकास बैंक माओवादीको द्वन्द्वकालीनको समयमा बिस्थापित भएको थियो । बैंक बिस्थापित भएपछि बैंकको भवनमा सशस्त्र बेस क्याम्प आएर बसेको थियो । अहिले सशस्त्र बेस क्याम्प आफ्नै भवन सितुमारीमा सरिसकेको छ । बिस्थापित भएको कयौं वर्ष बितिसक्दा पनि कृषि विकास बैंकलाई ल्याउन न जनप्रतिनिधिहरुले चासो देखाएका छन् न त सामाजिक अगुवाहरुले । पहल नहुँदा कृषि विकास बैंक नआएकोले कृषकहरुलाई समस्या भएको हो ।

झापा बजारमा रहेको कृषि विकास बैंकको आफ्नै दुईतले भवन र लगभग ५ कठ्ठा जग्गा रहेको छ । खाली रहेको भवन रेखदेख गर्ने मानिस नभएपछि अहिले कृषि विकास बैंकको भवन जीर्ण अवस्थामा पुगेको छ । कृषि विकास बैंकमा अहिले छाडा चौपायाहरुले बासस्थान बनाएका छन् ।

स्थानीय यासिन आलम भन्छन्, ‘कृषि विकास बैंक हुँदा पहिला कृषकलाई सहुलियत दरमा कर्जा उपलब्ध हुन्थ्यो अहिले कृषि विकास बैंक नहुँदा मजस्तो सयौं कृषकहरु चर्को ब्याजदरमा अन्य बैंकमा ऋण खान बाध्य हुनु परेको छ ।’ उनी सहकारीबाट लिएको ऋण चर्को ब्याजदरका कारण अहिले किस्ता तिर्न धौ धौ परेको बताउँछन् । त्यसैगरी अर्का स्थानीय मोहनकुमार चम्लागाईको भनाई पनि उस्तै छ । उनका अनुसार यहाँ कृषि विकास बैंक हुँदा राजगढ, चकचकी , डाँगीवारी , घेरावारीका मानिसहरु कृषि विकास बैंकमा ऋण लिन आउने गरेका थिए ।

झापा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंकसहित वित्तीय कारोवार गर्ने धेरै सहकारी संस्थाहरु रहेका छन् । कृषि विकास बैंकले दिने सेवा सुविधा अरुले नदिएको कृषकहरुको गुनासो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्