झापा, भदौ १८ । ओपनर मेहेदी हसन मिराज र नाज्मुल हसन शान्टोको शतकमा बंगलादेशले एसिया कपमा अफगानिस्तानलाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको छ।


जितको लागि ३ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४४ दशमल ३ ओभरमा २ सय ४५ रनमा अल आउट भयो। अफगानिस्तानका युवा ओपनर इब्राहिम जद्रानले ७४ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए।

कप्तान हश्मातुल्लाह शाहिदीले ६० बलमा ६ चौकासहित ५१, रहमात शाह ३३, रहमानउल्लाह गुरबाज १, नाजिबुल्लाह जद्रान १७, मोहम्मद नाबी ३, गुलबदीन नाइब १५ रनमा आउट भए ।
बंगलादेशका तस्किन अहमदले ४ विकेट लिए। शोरिफुल इस्लामले ३ विकेट लिए।
त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो।

मेहेदी हसन मिराजले १ सय १९ बलमा ७ चौका र ३ छक्कासहित १ सय १२ रनको शतकीय इनिङ खेले। उनको यो ओडिआई करिअरको दोस्रो शतक र उत्कृष्ट प्रदर्शन हो। शान्टो १ सय ५ बलमा ९ चौका र २ छक्कासहित १ सय ४ रनमा आउट भए। तेस्रो विकेटका लागि शान्टो र मिराजले १ सय ९० बलमा १ सय ९४ रनको शानदार शतकीय साझेदारी गरेका थिए।

ओपनर मोहम्मद नइम २८, मुश्फिकुर रहि २५, कप्तान सकिब अल हसन ३२ र शमिम हसैनले ११ रन बनाए। अफगानिस्तानका मुजिब उर रहमान र गुलबदीन नाइबले एक–एक विकेट लिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्