झापा, भदौ १८ । कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिलाएपछि नेपालले एसिया कप क्रिकेटको निर्णायक खेलमा भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।

भारतीय कप्तान रोहित शर्माले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल पालेकेले क्रिकेट रंगशालामा ४८.२ ओभरमा २ सय ३० रनमा अलआउट भएको थियो ।
कुशल र आसिफले १० ओभरभित्र ६५ रन जोडी नेपाललाई दिलाएको सुरुवातका मध्यक्रमका ब्याटरले इनिङ्स तानेका थिए । कुशलसहित भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल छोटो समयमा आउट भए पनि आसिफ शेखले संयमतापूर्वक खेल्दै अर्धशक पूरा गरेका थिए ।

यो खेल जित्ने टोली सुपर फोरमा पुग्ने छ । नेपाललाई जित्नै पर्ने अवस्था छ भने वर्षाले खेल अवरुद्ध पारे पनि भारत दोस्रो चरणमा पुग्ने छ । नेपाल बुधबार प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने सोमबार भारत र पाकिस्तानको खेल वर्षाले अवरुद्ध पारेको थियो ।
आसिफले ८८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ९७ बल खेली ८ चौका प्रहार गर्दै कुल ५८ रन बनाए । मोहम्मद सिराजको बलमा टप एज लागेपछि विराट कोहलीले एकहाते क्याच लिई उनलाई पेभेलियन फर्काएका थिए । कुशल र आसिफ दुवैले १ रनमा जीवनदान पाएका थिए ।

कुशल भुर्तेलले २५ बलमा ३८ रन बनाए । अफस्टम्पबाहिर गएको शार्दुल ठाकुरको बलमा छुन खोज्दा विकेटकिपरलाई क्याच दिन पुगेका उनले ३ चौका र २ छक्का प्रहार गरे । छैटौं ओभरमा कुशलले सिराजको बलमा गरेको प्रहार मैदानबाहिरको रोड छेउपारि कटेको थियो । ६ रन बनाएपछि कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो १ हजार रन पूरा गरेका थिए । रोहित र आसिफपछि एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने उनी तेस्रो खेलाडी हुन् ।

भीम सार्कीले १७ बल खेली ७ रन बनाए । रवीन्द्र जडेजाको बल ड्राइभ गर्न खोज्दा उनी स्टम्पआउट भए । कप्तान रोहित पौडेलले ५ रनमात्र बनाउन सके । जडेजाको बलमा उनले स्लिपमा भारतीय कप्तान रोहित शर्मालाई क्याच दिन पुगे । कुशल मल्लले पुनः एक पटक निराश बनाए । जडेजाका बलमा उनले २ रनमा मिड अनमा सजिलो क्याच दिए ।

गुल्शन झाले ३५ रन बनाउँदै आसिफलाई राम्रो साथ दिए । उनले ३ चौका प्रहार गरेका थिए । दीपेन्द्रले पनि उपयोगी २९ रन बनाए । उनले २५ बल खेल्दै ३ चौका प्रहार गरे । सोमपाल कामीको ४८ रनमा नेपालले २ सय रनको स्कोरलाई पार गरेको थियो । उनले ५६ बल खेली १ चौका तथा पाण्ड्या र सिराजलाई १–१ छक्का प्रहार गरेका थिए ।

सन्दीप लामिछाने ९ रनमा रनआउट भए । करण केसी रनमा अविजित रहे भने ललित राजवंशी शून्यमा आउट भए । भारतबाट जडेजा र सिराजले ३–३ विकेट लिए । जडेजाले १० ओभरमा ४० र सिराजले ९.२ ओभरमा ६१ रन खर्चे । मोहम्मद शामी, पाण्ड्या र शार्दुल ठाकुरको नाममा १–१ विकेट रहयो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्