झापा , भदौ १९ । भारतीयहरु नेपाललाई लागूऔषधको अखडा बनाउन उद्यत भइरहेका बेला तीन भारतीय अहिलेसम्मकै ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

बरामद गरिएको १९७ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर अहिलेसम्मकै सबैभन्दा धेरै भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

आज दिउँसो १.३० बजेको समयमा भद्रपुर नगरपालिका वडा नं.८ स्थित एयरपोर्ट अगाडी लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापाको इन्टेलिजेन्स टोली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला नक्सलबारी थाना बस्ने २८ वर्षिया कल्याणी बर्मन र सोही ठाउँ बस्ने २८ वर्षिया राधा सिंहलाई शंका लागेर चेकजाँच गर्दा दुवै जनाको साथबाट १९७ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवैलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सो ब्राउनसुगर भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला नक्सलबारी थाना बस्ने २४ वर्षिय कल्याण बर्मनको भएको र उनी काँकरभिट्टामा बसेको भनी खुलाएपछि उक्त स्थानमा प्रहरी टोली खटिएर बर्मनलाई समेत नियन्त्रणमा लिएको थियो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्