झापा, भदौ २० ।यतिबेला झापा जिल्ला लागूऔषधका लागि देशकै ट्रान्जिट पोइन्ट बनेको छ । भारतबाट आपूर्ति भइरहेको लागूऔषधकै कारण सीमावर्ती झापामा लागूऔषध प्रयोग र कारोबारको समस्या भयावह रुपमा देखिएको हो ।

नेपालतर्फबाट जति नै कडाइ गरिएपनि भारतले लागूऔषधको अवैध आपूर्ति नरोकेसम्म यो समस्या घट्नुको साटो बढ्दै भएको छ । भारतले लागूऔषधको बिक्रीवितरण कडाई नगरेर नेपाली युवाहरुलाई दुर्व्यसन र ओसारपसारमा अप्रत्यक्ष रुपमा प्रोत्साहन दिइरहेको नेपाली पक्षको बुझाइ रहेको छ ।

एक प्रहरी अधिकारीका अनुसार पानीटंकी , गलगलिया , खोरीवारीजस्ता बजारहरुमा लागूऔषध किन्न भारतीय प्रहरीले भारतीय नागरिकहरुलाई कडाइ गरेपनि नेपालीहरुलाई केही पनि गर्दैन । त्यही अप्रत्यक्ष सहयोगका कारण दिनहुँ भारतबाट लागूऔषध झापामा भित्रिने गरेको छ ।

ओसारपसारमा नेपालीसंगै भारतीय पनि संलग्न देखिएका छन् । भारतीयहरु नेपाललाई लागूऔषधको अखडा बनाउन उद्यत भइरहेको आरोप तीन भारतीय अहिलेसम्मकै ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेको घटनाले पुष्टि गरेको छ ।

बरामद गरिएको १९७ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर अहिलेसम्मकै सबैभन्दा धेरै भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिजालले बताए ।

मंगलवार दिउँसो १.३० बजेको समयमा भद्रपुर नगरपालिका वडा नं.८ स्थित एयरपोर्ट अगाडी लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापाको इन्टेलिजेन्स टोली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला नक्सलबारी थाना बस्ने २८ वर्षिया कल्याणी बर्मन र सोही ठाउँ बस्ने २८ वर्षिया राधा सिंहलाई शंका लागेर चेकजाँच गर्दा दुवै जनाको साथबाट १९७ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । जसको मूल्य करिव १० लाख रुपैयाँ रहेको बताइएको छ ।

दुवैलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सो ब्राउनसुगर भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला नक्सलबारी थाना बस्ने २४ वर्षिय कल्याण बर्मनको भएको र उनी काँकरभिट्टामा बसेको भनी खुलाएपछि उक्त स्थानमा प्रहरी टोली खटिएर बर्मनलाई समेत नियन्त्रणमा लिएको थियो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।

२०७९–०८० को पौष महिनादेखि भदौ २० गतेसम्म लागूऔषधमा संलग्न २४२ जना पुरुष र २८ जना महिला पक्राउ परेका छन् । त्यस्तै ११ जना भारतीय पुरुष र ४ जना भारतीय महिला पनि समातिएका छन् । त्यस अवधिमा १ किलोग्राम , ३७९ ग्राम १३९ मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै २८ किलो ३५० ग्राम २८० मिलिग्राम गाँजा पनि बरामद भएको छ । लागूऔषधमा संलग्न १६८ जनालाई मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्