झापा, भदौ २२ । मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै सर्वोच्च अदालतले ४८ घण्टामा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपनि अब बन्ने सरकारलाई पनि बहुमत पुर्याउन सहज देखिएको छैन ।

पूर्व मुख्यमन्त्रीसमेत रहेका कार्कीकै मागबमोजिम मुख्यमन्त्री थापालाई पद मुक्त गर्दै हिजो सर्वोच्च अदालतले ४८ घण्टामा कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको हो। कार्की ठूलो दलको हैसियतले मुख्यमन्त्री बन्ने भएपनि बहुमत पुर्याउन सकस छ । बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएर थापा नेतृत्व सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएसँगै यतिबेला प्रदेशसभा सभामुखविहीन बनेको छ।

उपसभामुख एमालेबाटै निर्वाचित सिर्जना दनुवार रहेकी छिन्। यदि एमालेले उपसभामुख दनुवारलाई राजीनामा गराएको खण्डमा भने ४६ मत पु¥याउन सक्ने देखिन्छ । उनको राजीनामा नआएको खण्डमा संसद्मा यसअघि पाएको ४६ मत पुर्याउन फेरि एमालेलाई सकस देखिन्छ ।अर्कोतर्फ सहयात्री राप्रापा पनि केन्द्रमा सत्ता गठबन्धनसँग नजिकिएसँगै प्रदेशमा राप्रपा कार्कीको साथमा रहन्छ वा छोड्छ भन्ने अन्योल छ । त्यस्तै प्रदेश नामकरणको विषयले चिढिएको जसपालाई आफ्नो पक्षमा ल्याउन त झनै चुनौती रहेको छ ।

यसअघि माओवादीले साथ छोडेपछि कार्की नेतृत्वको सरकार बहुमत गुमाएर पदमुक्त बनेको थियो । कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रुपमा २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्की १७४ दिनमा पदमुक्त भएका थिए । गत असार १५ गते प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको थियो । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेपछि उनी पदमुक्त बनेका थिए । पुस २४ गते नियुक्त भएका उनले पुस २५ गते शपथ ग्रहण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्