झापा, भदौ २२ । झापा क्षेत्र नं २(१) बाट निर्वाचित एकराज कार्की कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा योजनामन्त्री बन्ने भएका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि उनले २ जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । झापाका एकराज कार्की र ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मन्त्री नियुक्त गर्ने कार्कीको तयारी छ । कार्कीको सरकारमा राप्रपा भने सहभागी नहुने बताइएको छ ।

झापा क्षेत्र नं २(१) बाट लगातार दोस्रो पटक कार्की प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । यसअघि पनि एमाले नेतृत्वको प्रदेश सरकारमा उनी मन्त्री बन्ने चर्चा चलेको थियो । मुख्यमन्त्रीसंगै आज साँझ ६ बजे राखिएको शपथ ग्रहणका लागि प्रदेश सांसद कार्की अहिले विराटनगर जाँदैछन् । उनी डेंगी संक्रमणबाट संक्रमित भई बिर्तासिटी हस्पिटलमा उपचाररत थिए । मन्त्री बन्ने खबर आएपछि बिरामी अबस्थामै उनी बिराटनगर गइरहेका हुन् । शपथ ग्रहण गरेपछि फर्केर आफू अस्पतालमै भर्ना हुने उनले जानकारी दिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सबैभन्दा बढी उपसभामुखसहित ४० सदस्य एमालेको रहेको छ । कार्कीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । त्यो अवस्थामा उपसभामुखले मतदान गर्न नपाउने भएकोले कार्कीको पक्षमा ३९ सांसद मात्र हुने संभावना छ । प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । राप्रपाले समर्थन गर्दा पनि एमालेलाई बहुमत पुग्दैन ।

प्रदेशसभाको पहिलो कार्यकालमा ३ वर्षभन्दा धेरै आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपासमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि प्रदेशसभामा बिश्वासको मत प्राप्त गर्न नसकेर असार १५ गते उनी पदमुक्त भएका थिए । विश्वासको मतका लागि प्रदेशसभामा मदतान हुँदा कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक पर्दछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्