बिर्तामोड , भदौ २२ । बिर्तामोड नगरपालिका– ७ विरानस्थित कंचन इङ्लिस बोर्डिङ स्कुलमा शुक्रवार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी विद्यार्थी र अभिभावक लाभान्वित भएका छन् ।

मनमोहन हस्पिटल बिर्तामोडको प्राविधिक सहयोगमा भएको शिविरबाट स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न नसक्ने ग्रामीण क्षेत्रका विद्यार्थी र अभिभावकहरुले भरपूर लाभ लिएका हुन् । विद्यालयको प्रांगणमा आयोजित शिविरमा उनीहरुको घुइचो नै लागेको थियो । शिविरमा ५०४ जना विद्यार्थी र अभिभावकले चेकजाँच गराएको विद्यालयका फाउन्डर प्रिन्सिपल दीपक चम्लागाईले बताए । विद्यार्थीहरु विरामी भइरहेकाले नियमित कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उनले बताए ।

शिविरमा मनमोहन हस्पिटलका बालरोग विशेषज्ञ डा. वरुण अग्रवालको नेतृत्वमा १३ जनाको स्वास्थ्यकर्मीहरुको टोलीले चेकजाँच गरेको थियो । टोलीमा मेडिकल अफिसरहरु डा. आरजु सुनुवार , डा. अजाज आचार्य, दुईजना हेल्थ असिस्टेन्टलगायतले सेवा दिएको विद्यालयका संस्थापक तथा एकाउन्टेन्ट डिल्लीराम चम्लागाईले बताए । उनले मनमोहन हस्पिटलसंग सहकार्य गरेर प्रत्येक वर्ष विद्यालयमा स्वास्थ्य शिविर गर्दै आएको जानकारी दिए । त्यस्तै मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर पनि आयोजना गरिएको उनले बताए । शिविरमा निःशुल्क औषधी वितरणसमेत गरिएको थियो ।

विरामी भएपछि मात्र स्वास्थ्य संस्थामा जाने अबस्था भएका निम्न वर्गीय परिवारका लागि सो शिविर फलदायी रहेको अभिभावक कल्पना रोक्काले बताइन् । उनले आफू र युकेजीमा अध्ययनरत आफ्ना छोराले चेकजाँच गराएको जानकारी दिइन् । त्यस्तै अर्की अभिभावक टीका निरौलाको लागि पनि सो शिविर आबश्यक थियो । पैसा नभएर स्वास्थ्य संस्थामा जान नसक्ने विद्यार्थी र अभिभावकका लागि नियमित रुपमा त्यस्ता शिविर जरुरी भएको उनले खाँचो औल्याइन् ।

२०६४ सालमा स्थापना भएर कक्षा १० सम्म अध्ययन भइरहेको त्यस विद्यालयमा ५४० जना विद्यार्थी छन् । विद्यालय ग्रामीण क्षेत्रमा रहेपनि भौतिक पूर्वाधारले सम्पन्न ३ वटा भवनमा २७ वटा कोठा रहेका छन् ।विद्यालयले एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरेको अर्का संस्थापक तथा सहप्रधानाध्यापक बद्री बास्कोटाले बताए । ‘बिर्तामोड क्षेत्रका अरु संस्थागत विद्यालयको शुल्क हेर्ने हो भने हाम्रो शुल्क सस्तो छ ’उनले भने,‘ शुल्क सस्तो लिएर स्तरीय शिक्षा प्रदान गरिरहेका छौं ।’ विद्यालयका तीनैजना संस्थापकसंगै अन्य शिक्षकहरु दक्ष र अनुभवी भएकाले पनि परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्