झापा, भदौ २३ । सुनसरीको दक्षिण क्षेत्रमा विशेष अपरेशनमा खटिएका दुई जना प्रहरीलाई आक्रमण गरी अज्ञात समूहले हतियार लुटेका छन् ।

सुनसरीको बर्जु गाउँपालिका १ शुक्रबारेमा डियुटिमा रहेका सादा पोसाकका प्रहरीलाई शुक्रबार राति १२ बजे आक्रमण गरी हतियार लुटेका हुन् ।

आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यससंग सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरु इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए ।

सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइयो ।

‘पछाडिबाट टाउकोमा चिर्पट प्रहार गरियो । त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भयो,’ एसपी रेग्मीले भने, ‘आक्रमणकारीको समूह ठूलो थियो । प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था भएन ।’आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ। पेस्तोल भने अहिलेसम्म फेला परेको छैन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्