झापा, भदौ २३ । झापाको कमल गाउँपालिकामा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।

आज बिहान १० बजेको समयमा कमल गाउँपालिका– ३ बोहरा टोलस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आईरहेको मे ११ प ९२०३ नं. को मोटरसाइकल र बिपरित दिशातर्फ गईरहेको मे २ प ५९२३ नं. को मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मे २ प ५९२३ नं. को मोटरसाइकलका चालक कमल ३ बस्ने ३० वर्षिय बिरेन्द्र सहनीको बायाँ आँखामुनि नाकमा चोट लागेर कानबाट रगत बगेकोले लाईफलाईन अस्पताल दमकमा लगि उपचार भईरहेकोमा उपचारको क्रममा बिहान ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव तत्काल सोही अस्पतालमा रहेको छ । मे ११ प ९२०३ न.को मोटरसाइकलका चालक सोही ठाउँ बस्ने २३ वर्षिय सोमभगत बुढाथोकी सकुशल रहेकाले उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । दुबै मोटरसाइकललाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै आजै बिहान ११ः३० बजेको समयमा कमल ५ सशस्त्र प्रहरी विटनजिक पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १२ प ९१ न. को मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको मे ५ प ३६९६ न.को सेतो कलरको पल्सर मोटरसाइकलले ठक्कर दिई फरार भएको छ ।

मे १२ प ९१ नं. को मोटरसाइकल चालक अर्जुनधारा ५ बस्ने ३० वर्षिय रुपक दाहाल सकुशल रहेका छन् भने सोही मोटरसाइकलको पछाडि सवार २५ वर्षिया दिपिका सिग्देल घाइते भएकी छन् । दाहिने कुममा सामान्य पिल्सिएको उनको नमस्ते अस्पताल दमकमा उपचार भईरहेको छ । ठक्कर दिई फरार भएको मोटरसाइकलको खोजी भईरहेको र मे १२ प ९१ न. को मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्