झापा, भदौ २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।

भन्सार अधिकृत पुष्पा जोशी तथा नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तीनैजना कर्मचारीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

६१ केजी सुन तस्करी प्रकरणमा यसअघि पक्राउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्करमाथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो । यसअघि विमानस्थल भन्सारकै दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका चार कर्मचारी पक्राउ परिसकेका छन् । प्रहरीले यसअघि पक्राउ परेका अधिकृत पौडेलको बयानका आधारमा अरु कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन् ।

सुन तस्करी पक्ररणमा शनिबार पक्राउ परेका ३ सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन् । सीआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्