भद्रपुर, भदौ २३ । झापामा रहेका धामी तथा वैद्यहरूले चन्द्रगढीमा विविध कला प्रदर्शन गर्दै आठौं मनषादेवी विषहरी विष खेल सम्पन्न गरेका छन् ।

नेपाल राष्ट्रिय धामी वैद्य संघ झापाको आयोजनामा भद्रपुर ८ मेची रंगशाला पश्चिमको चौरीमा झापा, मोरङ, सुनसरी र भारतको पश्चिम बंगालबाट भेला भएका धामी झाँक्री र वैद्यहरूले आ– आफ्नो कला प्रदर्शन गरेका हुन् ।

संघका झापा अध्यक्ष सतलाल राजवंशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा काली नागको माला लगाएर विषहरी खेलको सुरू गरिएको थियो ।


अध्यक्ष राजवंशीले नगर प्रमुख पोखरेल, वडाध्यक्ष रतिया राजवंशी, अभिषेक ढुंगाना र गौरव सुब्बा मनोजलाई पालैपालो जिउँदो काली नागको माला लगाएर नागको गर्जन प्रदर्शन गरिएको थियो भने धामी झाँक्रीहरूले आ– आफ्ना ढोलढ्याङ्ग्रा वजाएर मन्त्रमुग्ध बनाएका थिए ।

बहुजातीय धामी झाँक्री सहभागी कार्यक्रममा आगो नबाली चिया पकाउने, विष खेल प्रदर्शन र सिसामा हिड्ने कला प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संघका झापा सचिव देवचरण राजवंशीले पिता पुर्खाको पालादेखि प्रकृतिसित जुधेर बाँच्ने कला तथा औषधी उपचार सेवा प्रदान गर्ने एक मात्र निकाय धामी झाँक्री र वैद्य भएको बताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्