झापा , भदौ २४ । सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा सादा पोशाकका प्रहरीमाथि आक्रमण गरेर हतियार लुट्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई मोरङको बूढीगंगालगायतका स्थानबाट पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहवी–१ का ३० वर्षीय मोहमद अलिम मुर्तुजा, १४ वर्षीय बालक, बूढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम, बूढीगंगा–५ का २१ वर्षीय मोहमद नजरुल मिया र सुनसरी दुहवी–६बस्ने भारतीय नागरिक ४० वर्षीय मोहमद आलम रहेका छन्।

पक्राउ परेकामध्ये रिजवान २०६४ देखि २०७९ सम्म मोरङ र सुनसरीमा भएका विभिन्न १० वटा अपराधमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेको गिरोहबाट ठूलो चाइनिज पेस्तोल, कटुवा पेस्तोल, रड, चक्कु, मोटरसाइकल, १ लाख ७५ हजार बढी नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय रुपैयाँ, डलर, सुनको झुम्का र तिलहरी, चाँदीको पाउजु र सिक्रीलगायतका विभिन्न सामान बरामद भएको छ।
चोरी नियन्त्रणका लागि सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीमाथि बर्जु–१ मा शुक्रबार यो गिरोहले आक्रमण गरी हतियार लुटेको थियो। पक्राउ परेकाविरुद्ध डाँका, हातहतियार खरखजाना र संगठित अपराधमा मद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्