झापा, भदौ २४ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत समिति÷उपसमिति पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम धमाधम सञ्चालन भइरहेको छ ।

भदौ १९ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम संस्थाअन्तर्गतका सात वटा क्षेत्रमा सातै दिन सञ्चालन हुँदै भदौ २६ गते मोरङमा सम्पन्न हुँदैछ । भदौ २४ गते आइतबार काँकरभिट्टा खानेपानीको सभाहलमा मेची क्षेत्रअन्तर्गत समिति, उपसमिति पदाधिकारीको सहभागितामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
आइतबार सम्पन्न कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, व्यवसायगत उपसमिति, क्षेत्रीय उपसमितिका साथै मेची क्षेत्रअन्तर्गत रहेका सेवाकेन्द्रहरु (काँकरभिट्टा, चारआली, बुधबारे, धुलाबारी, इँटाभट्टा, बाहुनडाँगी, शान्तिनगर, खुट्टीडाँगी, बौद्धमोड, भृकुटी) का सेवाकेन्द्र उपसमिति र भौगोलिक एकाइ उपसमिति पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले संस्था सञ्चालनमा उपसमितिको भूमिका विषयमा सहजीकरण गरेका थिए । संस्थालाई चलायमान बनाउन स्वयम्सेवीको रुपमा समिति÷उपसमितिको भूमिका महत्वपूर्ण रहने जिकिर गर्दै अध्यक्ष सिवाकोटीले अझ एनएमसीजस्तो ठूलो संस्थाको साखलाई थप उचाईँ प्रदान गर्न सम्पूर्ण समिति÷उपसमितिको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे ।

सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकालले एनएमसी आजको स्थानमा आइपुग्न संस्थाले अवलम्बन गरेको असल संस्कारको भूमिकामाथि प्रकाश पारेका थिए। संस्थाले अगाडि सारेको ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’को मूल नारालाई आत्मसात् गरी सबै समिति÷उपसमिति संस्थाको गरिमालाई उच्च राख्न हरदम प्रयास गर्नुपर्ने सहसचिव ढकालको भनाई थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाले अगाडि सारेका सामुदायिक अभियानबारे सहजीकरण गरेका थिए । राज्यले निर्वाह गर्नुपर्ने दायित्वलाई सहकारीले समेत समुदायकेन्द्रित भई सञ्चालन गर्नुपर्ने तर्क राख्दै प्रमुख कार्यकारी अधिकृत उप्रेतीले एनएमसीले समुदायमा निर्वाह गरेको भूमिकामाथि प्रकाश पारेका थिए । संस्थाले सञ्चालन गरेका विभिन्न अभियानहरु सुत्केरी भेटघाट, बालबचकर्तालाई शुभकामना, राहत कार्यक्रम, समवेदनामा उपस्थिति, एनएमसी ट्याग वितरणलगायतका सामुदायिक गतिविधिबारे जानकारी दिँदै उप्रेतीले एनएमसी सदैव सदस्यको हितमा काम गर्दै आएको हुनाले आफ्नो जिम्मेवारीबाट एनएमसी कहिल्यै पछि नहट्ने प्रतिवद्धता व्यक्त गरे ।

मेची क्षेत्रीय समन्वय उपसमिति संयोजक राजु उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेची क्षेत्रीय उपसमिति संयोजक हरिप्रसाद उप्रेतीको शाब्दिक स्वागत रहेको थियो भने कार्यक्रमको सञ्चालन मेची क्षेत्र प्रमुख प्रकाश पौड्यालले गरेका थिए । अभिमुखीकरणमा संस्थाका विविध पक्षबारे उपस्थित पदाधिकारीहरुले जिज्ञासा तथा सुझाव समेत व्यक्त गरेका थिए ।

भदौ १९ गते कनकाई–रतुवा ‘ख’ बाट सुरु भएको अभिमुखीकरण कार्यक्रम भदौ २१ गते बिर्ता–अर्जुन, भदौ २२ गते कनकाई–रतुुवा ‘क’, भदौ २३ गते भद्रपुर केचना क्षेत्रमा सम्पन्न भएको थियो भने भदौ २५ गते इलाम र भदौ २६ गते मोरङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्