झापा, भदौ २४ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजना मन्त्री एकराज कार्की अस्वस्थ भएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको छ ।

विगत तीन दिनदेखि डेंगी संक्रमण भएर बिर्तासिटी हस्पिटलमा उपचार गराइरहेका मन्त्री कार्कीको स्वास्थ्य अबस्थामा सुधार नभएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको हो । उनलाई वीर अस्पतालको स्पेशल भीआइपी रुममा राखेर उपचार शुरु गरिएको स्वकीय सचिव नवीन शिवाकोटीले बताए ।

हिजो ६१ हजार प्लेटलेट रहेकोमा आज झरेर ४९ हजार पुगेपछि मन्त्री कार्कीलाई काठमाडौं लगिएको हो । उनको सम्पूर्ण चेकअप गरिसकेको र अहिले स्वास्थ्यमा केही सुधार देखिएको स्वकीय सचिव शिवाकोटीले बताए । उनका अनुसार मन्त्री कार्कीले खान थाल्नु भएको छ । मुटुमा समस्या आइरहेका बेला मन्त्री कार्कीलाई डेंगी संक्रमणसमेत भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल पुगेर मन्त्री कार्कीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् ।

तीन दिन अघिदेखि नै अस्वस्थ भएर बिर्तासिटी हस्पिटलको आइसियुमा उनको उपचार भइरहेको थियो । शुक्रवार कोशी प्रदेशको मन्त्री पदमा नियुक्त भएपछि उनी स्वास्थ्य अबस्था नाजुक छँदाछँदै शपथ ग्रहणका लागि बिराटनगर गएका थिए । शपथ ग्रहणपछि फर्केर उनी बिर्तासिटी हस्पिटलमा पुनः उपचारका लागि भर्ना भएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्