झापा, भदौ २५ गते । नेकपा एमाले परित्याग गरेकी भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर चन्द्रा श्रेष्ठ नेकपा (एकीकृत समाजवादी ) को केन्द्रीय सदस्य मनोनित भएकी छन् ।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव रहेकी श्रेष्ठले गत फागुन १९ गते पार्टी परित्याग गरेकी थिइन् ।उनी विगत ३२ वर्षदेखि एमालेमा आवद्ध रहेकी थिइन् । त्यस्तै श्रेष्ठसंगै एमाले परित्याग गरेका प्रदेश कमिटी सदस्य पदम थापालाई एकीकृत समाजवादीले केन्द्रीय परिषद सदस्यको जिम्मेवारी दिएको छ । पार्टीको हिजो बसेको सचिवालयको बैठकले दुवैलाई मनोनित गरेको हो ।

एमाले परित्याग गरेका पुराना नेता नरेश खरेललाई पनि केही महिनापछि पार्टीले जिम्मेवार पदमा मनोनयन गर्ने भएको छ । उनकी श्रीमती पूर्व सांसद पवित्रा निरौला खरेल अहिले अष्ट्रेलियामा रहेकाले स्वदेश फर्केपछि दुवैलाई पार्टी प्रवेश गराएर जिम्मेवारी दिने पार्टी स्रोतले जनाएको छ ।

त्यस्तै केही दिनअघि नेकपा माओवादी केन्द्र परित्याग गरेका झापाका ७१ जना एकीकृत समाजवादीमा प्रवेश गर्ने भएको नगर अध्यक्ष श्रीप्रसाद सिटौलाले बताए । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ संचालन गरेकै दिन बिर्तामोडका ७१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्