दमक भदौ २५ । दमक नगरपालिकाले नगरभित्रका ९० बर्षमाथिका जेष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई घरघरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ ।

दमक नगर अस्पतालका बिशेषज्ञ चिकित्सकहरुको टिमले स्वास्थ्य सेवा हिजोबाट दिन सुरु गरेको हो । बिरामी हुँदा पनि उपचारको लागि अस्पताल धाउन नसक्ने समुदायका लागि सेवा सञ्चालन गरिएको नगर उपप्रमुख रेगिना भट्टराईले बताइन् । शारीरिक रुपमा सक्षम व्यक्तिहरु अस्पतालमै पुग्नसक्ने भएपनि ९० बर्षभन्दा माथिका र शारीरिक असक्त भएकाहरु बिरामी भएपनि घरमै बस्नु पर्ने अवस्था हटाउन अभियान सञ्चालन गरिएको उनले बताइन् ।

अभियानका क्रममा नगरभित्रका ९० बर्ष माथिका सबै जेष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्गता भएका सबैको स्वास्थ्य परीक्षण निःशुल्क गरिने र कुनै समस्या देखिए औषधिसमेत निःशुल्क उपलब्ध गराईने उपप्रमुख भट्टराईले बताइन् । स्वास्थ्य अभियान सुरु गर्नुभन्दा अघि नगरभित्रका मापदण्ड पुगेका लाभग्राहीहरुको तथ्यांक संकलन गरिएको भन्दै उनले नगरभित्र यस्ता लाभग्राहीको संख्या ४०२ जना रहेको जानकारी दिइन् । ती सबै लाभग्राहीको घरघरमै पुगेर स्वास्थ्य जाँच गरिने भट्टराईले बताइन् ।

दमक अस्पतालका बिशेषज्ञ चिकित्सक नेतृत्वको टिमले घरघरमै पुगेर लक्षित लाभग्राहीहरुलाई उपचार सेवा प्रदान गर्ने दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण शाहले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन हिजो दमक वडा नम्बर १ फाल्गुनन्द चौककी १०१ बर्षिया पूर्णमाया लावती, जन्मजात शारीरिक अपाङ्गता भएका १३ बर्षिय प्रगिम घिमिरेलगायत ११ जनाको उपचार गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्