झापा, भदौ २५ । ताप्लेजुङबाट निर्वाचित कोशी प्रदेशसभाका कांग्रेस सांसद खगेनसिंह हाङ्गामले प्रहरी अधिकृतलाई ज्यान मार्ने धम्की दिएका छन् ।

ताप्लेजुङको फुङलिङमा भदौ २१ मा आयोजित मिनी मेलामा सांसद हाङ्गाम र प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूबीच आरोप÷प्रत्यारोप चलेको थियो ।

त्यसपछि हाङ्गामले शुक्रबार फुङलिङमा आयोजित कोणसभामा डीएसपी र उनको परिवारलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएका हुन् । सांसदले ज्यान मार्ने धम्की दिएकामा प्रहरीले आपत्ति प्रकट गरेको छ । भदौ २१ को घटना छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो । कांग्रेसले भने उनको अभिव्यक्ति गलत भए पनि वातावरण बिगार्ने काम प्रहरीबाटै भएको प्रतिक्रिया दिएको छ । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रहरी प्रशासनले उत्तेजक वातावरण बनाएको बताए । ‘कोशीका माननीयको सार्वजनिक अभिव्यक्ति अशोभनीय, उत्ताउलो र उत्तेजित छ, त्यस्तो बोल्नु गलत हो तर त्यस्तो बोल्ने स्थिति सिर्जना गर्ने प्रहरी प्रशासन दोषी छ,’ विश्वकर्माले भने, ‘सादा पोसाकमा गएर व्यक्तिको घर तोडफोड गर्ने, ढोका बाहिर निकाल्ने, कुटपिट गर्ने गुन्डागर्दी शैली प्रहरीले अपनाएको छ ।’

घटनाको भोलिपल्ट भदौ २२ मै कांग्रेसले विज्ञप्ति निकालेर प्रहरीबाट ज्यादती भएको भन्दै निन्दा प्रकट गरेको थियो । ‘मेलामा सहभागी भएका पेमा लामा तामाङ, सुकेटार घुमफिर गरी फर्कने क्रममा यो घटनाको विरोधमा आवाज उठाउँदा उहाँमाथि मुक्का प्रहार गर्नुका साथै सेटले समेत हिर्काएका छन्, उहाँको आँखामा गम्भीर चोट लागेको छ, चस्मा फुटेको छ,’ कांग्रेसले भनेको छ, ‘घटनाका बारेमा बुझ्न खोज्दा कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामलाई बर्दी र सादा पोसाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै उहाँको निवासमा ढुंगामुढासमेत प्रहार गरेका छन् ।’

कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेलले प्रदेशसभा सदस्यको सार्वजनिक अभिव्यक्ति कांग्रेसको आदर्शविपरीत रहेको बताए । ‘आफ्ना कुरा प्रदेश संसद्मा राखेर सरकारमार्फत हल गर्नुपर्नेमा देशको कानुन हातमा लिन खोज्ने अभिव्यक्ति खेदजनक छ । पार्टीले आवश्यक छानबिन गरी यथार्थ सार्वजनिक होस्,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्