झापा, भदौ २५ । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ ।

सोमबार गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित १० सहसचिवको सरुवा गरेको हो । विभागको महानिर्देशकमा गृह मन्त्रालयका रुद्रसिंह तामाङलाई पठाएको छ । विभागमा यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी सुन प्रकरणमा मुछिएपछि त्यहाँबाट उनलाई हटाइएको थियो ।
विभागमा लगिएका तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको पनि सरुवा भएको छ । सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई पनि सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रजिअमा सरुवा गरिएको छ । त्यसैगरी मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअमा सरुवा गरिएको छ । महोत्तरीका प्रजिअ दीपककुमार पहाडीलाई भने गृह मन्त्रालयमा ल्याइएको छ । त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङकी प्रजिअ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको प्रजिअ बनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्